यस वर्ष विजया दशमीको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ०८ः४९ बजे देवी विसर्जन गरेपछि उक्त शुभ साइतमा टीका लगाउन सकिने जनाएको छ।
टीका लगाइमाग्ने मानिसले पश्चिम मोहडा गरेर बस्नुपर्नेछ। साइतमै टीका लगाउन चाहनेका लागि यो समय उत्तम मानिए पनि विजया दशमीका दिनभर टीका लगाउन सकिनेछ।असोज २५ गते आइतबार बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत रहेको छ। चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि यसको शान्ति गर्नुपर्ने समितिले जनाएको छ।
असोज २६ गते बिहान १०ः०७ बजे पश्चिम मोहडा गरेर झण्डा फेर्ने साइत छ। असोज २९ गते पचलीभैरव यात्रा र असोज ३१ गते फूलपाती परेको छ।
फूलपातीका दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्रा र १०ः३९ बजे स्थिरासनको साइत छ। कात्तिक १ गते महाअष्टमी र राति कालरात्रि पर्व परेको छ।
कात्तिक २ गते पनि अष्टमी तिथि परेको छ। कात्तिक ३ गते महानवमी परेको छ।
विजयादशमीका दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्रा र ११ः५२ बजे स्थिरासनको साइत छ। यसै दिन खड्गयात्रा पनि परेको छ।
कात्तिक ८ गते आइतबार बलिपूर्ति, कोजाग्रतव्रत र पूर्णिमा व्रत परेको छ। यस दिन बेलुकी महालक्ष्मीको पूजा गरेपछि दसैँ समापन हुन्छ।


