काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाएको छ। पार्टीको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो। उक्त प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी छ। यसअघि २०८३ जेठ ३ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो। नेता भण्डारीको सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयलाई लिएर एमालेभित्र लामो समयदेखि बहस हुँदै आएको थियो। यसअघि उनको सदस्यता नवीकरणसम्बन्धी विषयमा पार्टीभित्र फरक–फरक निर्णय भएका थिए। पछिल्लो समय एमालेमा नेतृत्व पुनर्गठनको बहस चलिरहेका बेला भण्डारी पार्टी राजनीतिमा पुनः सक्रिय भएकी हुन्। एमालेको जारी केन्द्रीय कमिटी बैठकमा संगठनात्मक संरचना, नेतृत्व तथा विभिन्न कमिटी गठनसम्बन्धी विषयमा समेत छलफल भइरहेको छ। सचिवालय बैठकले पार्टी अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनलाई एकरूपताका साथ बुझ्ने र अध्ययन गर्ने जनाएको छ ।  पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्षको प्रतिवेदनलाई एकरूपताका साथ बुझ्ने, अध्ययन गर्ने र तल्लो तहसम्म प्रभावकारी रूपमा सम्प्रेषण गर्ने विषयमा विशेष जोड दिइएको उपमहासचिव लेखराज भट्टले बताए । अध्यक्षको प्रतिवेदनले पार्टीभित्र एकताको नयाँ भाव पैदा गरेको उनले उल्लेख गरे। साथै बैठकले पार्टी एकतामा सामेल भएका तथा विभिन्न ठाउँबाट पार्टी प्रवेश गरेका नेता–कार्यकर्ताहरूलाई केन्द्रीय समितिमा मनोनयन गर्ने विषयमा विस्तृत छलफल भएको उनले जानकारी दिए । उनले स्थायी कमिटीका सन्दर्भमा समेत केही खाका तयार गरी टुङ्गो लगाइएको र केन्द्रीय कमिटीको बैठकबाट औपचारिक निर्णय भएपछि मात्र नामहरू सार्वजनिक गरिने भट्टले बताए।  एमालेले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित ७ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। अध्यक्ष केपी ‌ओलीकाे प्रस्तावमा ७ जना स्थायी समितिमा मनाेनीत भएका हुन् । जारी केन्द्रीय कमिटी तेस्रो बैठकमा उनीहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरिएको हो। यसरी मनोनीत हुनेहरूमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारी रहेका छन्। ओलीले नेता सुरेन्द्र पाण्डेलाई भने प्रस्ताव गरेनन् । पाण्डे महासचिवमा शंकर पाेखरेलसँग चुनावमा पराजित भएका थिए ।