सुनसरीमा भएको दुःखद घटना र समसामयिक विषयमा सामूहिक छलफल गरी निकास खोज्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक बोलाएको छ।
रास्वपा सभापति रवि लामिछानेको पहलमा बुधबार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा उक्त छलफल आयोजना गरिएको हो।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँगै मधेस केन्द्रित अन्य प्रमुख दलहरूलाई पनि आमन्त्रण गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बताए। उनका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वको दललाई छलफलमा बोलाइएको छ।
सामाजिक सद्भाव कायम राख्न र मुलुकको पछिल्लो परिस्थितिबारे साझा धारणा बनाउन सबै दलहरूलाई पत्राचार गरिएको रास्वपाले जनाएको छ। बैठकमा नेताहरूको उपस्थिति निश्चित गर्न सभापति लामिछाने आफैँले फोन गरेर शीर्ष नेताहरूलाई निम्तो दिएका छन्।


