मध्यरातमा प्रधानमन्त्री बालेनले सामाजिक सद्भावका लागि गरे यस्तो आव्हान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । सुनसरी घटनामा दुःख व्यक्त गर्दै उनले एक अर्कालाई प्रेम र सम्मान गर्न अपिल गरेका हुन् । उनले उत्तेजित हुने वा गराउने काममा सरिक नभई सुरक्षित तथा संयमित रहन आग्रह गरेका छन् । सामान्य घटना ज्यान गुम्ने अवस्थामा गएकोमा प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि आफू दु:खी भएको उनले बताएका छन् । प्रधानमन्त्री शाहले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गरिने र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता जनाएका हुन् । उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सरकारले यथाशीघ्र न्याय र क्षतिपूर्ति उपलब्ध गराउने उनले बताएका छन् । उनले फेसबुक पोस्टमा लेखेका छन् – ‘सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ ।’ प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोलीबाट नागरिकको मृत्यु र घाइते हुनु सामान्य नभएको स्पष्ट पार्दै उनले घटनाबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने जानकारी दिएका छन् । पीडित परिवारलाई न्याय दिलाउन सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता व्यक्त गर्दै उनले अनुसन्धान सम्पन्न नहुँदासम्म संयम अपनाउन, उत्तेजना, आक्रोश र बदलाको भावना त्याग्न आग्रह गरेका छन् ।

