काठमाडाैं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित गर्न सुरु गरिएको ‘आत्म समीक्षा र पुनर्गठन’ अभियानको पूर्ण सफलताको कामना गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले पार्टी पङ्क्ति र जनअपेक्षा अनुसार यो अभियान सफल हुने विश्वास व्यक्त गरेका हुन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले अभियानका क्रममा विभिन्न बाधा व्यवधान र आरोप(लान्छनाहरू आइलागे पनि विचलित नभई लक्ष्यमा पुग्न शुभकामना दिएका छन्। उनले लेखेका छन्, ‘जुनसुकै किसिमका बाधा व्यवधान भए पनि तथा आरोप लाञ्छना लगाइए पनि आम पार्टी पङ्क्ति र जनअपेक्षा अनुसार यो अभियान सफलताका साथ पूरा हुने विश्वास व्यक्त गर्दछु।’ तर, पार्टीको यो महत्त्वपूर्ण अभियानमा आफू भने तत्काल प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने पोखरेलले जानकारी दिएका छन्। आफ्नी जीवनसंगिनी मिरा पोखरेलको स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले उनको उपचारमा समय दिनुपर्ने भएकाले आफू व्यस्त रहने उनले बताएका हुन्।