पोखराबाट दुबई सिधा उडान हुने भएपछि आन्तरिक र बाह्य पर्यटक खुसी

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ। आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।
फ्लाइ दुबईको टोलीले केही दिनअघि पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरामा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएलगत्तै यो अनुमति दिइएको हो।
हवाई चापको विकेन्द्रीकरण र पर्यटन प्रवर्द्धन
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताए। दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप र अफ्रिकालगायत ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच पुग्ने उनको भनाइ छ।
हालसम्म छिमेकी केही देशमा चार्टर उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन। झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित रहँदै आएको छ।
लगानी थपिँदै, व्यावसायिक उडानको प्रतीक्षा
सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि गत मार्च २३ बाट त्यो बन्द भएको थियो। विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसके पनि यसकै कारण पोखराको पर्यटनमा झण्डै १ खर्ब रुपैयाँ बराबरको थप लगानी भइसकेको छ।
पर्यटन व्यवसायीहरूले पोखराबाट अन्तरराष्ट्रिय उडान गर्न आवश्यक नीतिनियममा सहजीकरण गर्न र भारत तथा चीनका मुख्य सहरमा उडान खुला गर्न माग गर्दै आएका छन्। हाल स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखराबाट काठमाडौँ, भरतपुर र भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गरिरहेका छन्।

