सर्वदलीय बैठक राख्दै रवि, राजनीति दलहरू बीच सम्बन्ध बढाउने प्रयास

काठमाडौं । संसद्मा सत्तापक्ष–प्रतिपक्षबिच टकराव र सांसदहरूबिच पनि छेडखानी तथा आरोप–प्रत्यारोप चलिरहेका वेला सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गरेको छ । सरकार र विपक्षी दलहरूको टकराव तथा लगातार सदन अवरोधका बिच रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका हुन् । महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक आह्वान गरेको बताए । ‘पछिल्ला घटनाक्रमसहित समग्र समसामयिक विषयमा छलफलका लागि सभापतिज्यूले बैठक आह्वान गर्नुभएको हो,’ बुर्लाकोटीले नयाँ पत्रिकासँग भने, ‘सोमबार बिहान ९ बजे सिंहदरबारस्थित संसद्को सार्वजनिक लेखा समितिको हलमा बोलाइएको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष–सभापतिसहित दुईजनालाई सहभागिताका लागि आमन्त्रण गरिएको छ ।’ टकराव बढिरहेकै बिचमा १८ जेठमा स्थगित बैठक सोमबार बस्दै छ । बैठकअगावै प्रतिपक्षसँग बढेको दूरी कम गरी संसद् बैठक सुचारु गर्ने काममा सहजीकरण गर्ने उद्देश्यले लामिछानेले बैठक बोलाएका हुन् । त्यसक्रममा उनले आफ्नो भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारीसमेत दिने उद्देश्य रहेको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष/सभापतिसहित दुईजना आमन्त्रण गरेका छौँ कवीन्द्र बुर्लाकोटी महामन्त्री पछिल्ला घटनाक्रमसहित समग्र समसामयिक विषयमा छलफलका लागि सभापतिज्यूले बैठक आह्वान गर्नुभएको हो । बैठक सोमबार बिहान ९ बजे सिंहदरबारस्थित संसद्को सार्वजनिक लेखा समितिको हलमा बोलाइएको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष–सभापतिसहित दुईजनालाई सहभागिताका लागि आमन्त्रण गरिएको छ ।

