काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गरेका छन् । मंगलबारको बैठकमा बोल्दै विपक्षी सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाए । बैठकमा नेकपा एमालेको प्रमुख सचेतक ऐन महरले सरकारले लोकतन्त्रको चिरहरण गरेको आरोप लगाए । उनले भने, ‘के सरकारले लोकतन्त्रको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हाे ?’ उनले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित हुन सभामुखले रुलिङ गर्नुपर्नेमा जाेड दिए । यस्तै नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसदमा उठेका महत्वपूर्ण विषयमा जवाफ दिन प्रधानमन्त्री शाह संसदमा उपस्थित नहुनु लोकतन्त्रको खिल्ली भएको बताइन । नेकपाका सांसद युवराज दुलालले प्रधामान्त्री संविधानभन्दा माथि नभएको भन्दै उनी संसदमा उपस्थित हुनुपर्ने बताए । उनको प्रश्न थियो, ‘के प्रधानमन्त्री संविधानभन्दा माथि हो ? होइन उहाँ यही संसदबाट जन्मिएको हो भने प्रधानमन्त्री संसदमा आउनैपर्छ । रोष्टममा उभिएर जनताको प्रश्नको जवाफ दिनै पर्छा ।’ बैठकमा राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरुले पनि प्रधानमन्त्रीकाे उपस्थितिको माग गर्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।