अर्को कांग्रेस बनाउने पूर्णबहादुरको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्काले पार्टी फुट्ने चेतावनी दिएका छन् । देउवा पक्षका नेता पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको दावी गरे। नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वकार्यबहाक सभापति खड्काले पार्टी विभाजनको डिलमा रहेको बताए। आफूसँग भेट गर्न आएका बेला सिंगो पार्टीको सभापति बन्न आग्रह गरेको उल्लेख गर्दै अहिले पनि पार्टी सभापति थापा सानेपाको मात्रै सभापति रहेको खड्काको भनाइ थियो। उनले तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए। ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु,’ खड्काले केही दिनअघिको भेटमा सभापति र उपसभापतिलाई भएको कुरा सुनाए, ‘तर, पार्टी मिलाउने कि फुटाउने तपाईहरूको जिम्मामा छ भनेको छु।’ अदालतले जिताएपछि आफूहरूले पनि सभापति मानेको उल्लेख गरे। भेटमा थापालाई सिंगो कांग्रेसको सभापति बन्न सुझाव दिएको उनले बताए। पूर्वकार्यवहाक सभापति खड्काले विशेष महाधिवेशनका कारणले कांग्रेस प्रतिनिधि सभाको निर्वाचनमा खुम्चिएको जिकिर गरे। ‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाई नजिक पुग्यो,’ खड्काले भने, ‘त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो।’

