गगन–विश्वकै उम्मेदवार फरक पर्दा कांग्रेस दल नेता छान्न कठिन

काठमाडौं । सांसदहरूले शपथ लिएको एक महिना बितिसक्दा पनि संसदीय दल नेता चयन गर्न नसकेपछि कांग्रेसको नेतृत्वमाथि नै प्रश्न उठ्न थालेको छ । पार्टी नेतृत्वले सहमति हुन नसके निर्वाचन गराएर भए पनि नेता छान्ने बताउँदै आएको थियो तर अझै टुंगो लागेको छैन । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले नयाँ वर्षको आरम्भसँगै दलको नेता चयन हुने बताएका थिए । निर्वाचन गरेर भए पनि वैशाखको पहिलो साताभित्रै दलको नेता छान्ने उनको भनाइ थियो । सांसदहरूको शपथ भने १२ चैतमै भएको थियो । प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलले संसदीय दलको नेता चयन गरिसकेका छन् । पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीचमै तालमेल नहुँदा संसदीय दल नेता छनोटमा ढिलाइ भइरहेको नेताहरू बताउँछन् । संसदीय दलको नेता चयन नहुँदा सरकारसँग समन्वय, नीति–निर्णयमा धारणा निर्माण तथा संसदीय गतिविधिमा अन्योल खडा भएको कांग्रेस सांसदहरूले बताएका छन् । ‘संसदीय दलको नेता चयनमा ढिला हुँदा आफैंभित्र विभाजनको रेखा कोरिने र अविश्वास बढ्दै जाने जोखिम हुन सक्छ’ सभापति थापा पक्षमै रहेका एक नेताले भने, ‘यसले आन्तरिक एकता कमजोर बनाउने मात्र होइन, देशभर पार्टीभित्रै नकारात्मक सन्देश जान सक्छ । यो अन्योल अब धेरै लम्ब्याउनु हुन्न भनिरहेका छौं ।’ सर्वसम्मत हुन नसकेपछि दलको नेता चयन गर्न शुक्रबारका लागि निर्वाचन तालिका प्रकाशित भइसकेको थियो । अपराह्न ३ बजे मनोनयन गरेर त्यसै दिन मतदान गर्ने कार्यक्रम थियो । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गठित निर्वाचन समितिले प्रक्रिया अघि बढाइरहेकै बेला सभापति थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अचानक निर्वाचन स्थगन गर्यो । त्यही बैठकले उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलाई सर्वसम्मति जुटाउन जिम्मेवारी दिएको थियो । घिमिरेले शनिबारसम्म भएका छलफलका आधारमा सहमति जुट्ने दाबी गरे । आइतबार हुन नसके ढिलोमा सोमबार नेता चयन हुने उनको भनाइ छ । ‘आकांक्षीहरूबीचको छलफल सहमतिउन्मुख भएको छ । आइतबार बिहान सभापति थापासँग बस्ने बैठकबाट समझदारी हुन्छ, त्यसलगत्तै प्रक्रिया सुरु गरेर दलको नेता घोषणा गर्न सकिन्छ । ढिलोमा सोमबार कट्दैन,’ उनले भने । अहिले चर्चामा रहेका तीन नेतामध्यबाटै दलको नेता चयन हुने घिमिरेले बताए । संसदीय दलको नेतामा समानुपातिक प्रणालीबाट निर्वाचित अर्जुननरसिंह केसी, भीष्म आङ्देम्बे र रसुवाबाट प्रत्यक्ष निर्वाचित मोहन आचार्य मुख्य आकांक्षी छन् । केसी संसद्कै ज्येष्ठ सदस्य हुन् । उनी सभापति थापाका ससुरा पनि हुन् । आङ्देम्बे पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता हुन् । प्रतिनिधिसभा निर्वाचनपछि उनी उपसभापति शर्मानिकट भएका छन् । आचार्य सभापति थापानिकटका हुन् । उनीहरू तीनमा एक जना प्रस्तावक र एक जना समर्थक बसेर दलको नेता छानिने महामन्त्री घिमिरेको दाबी छ । पार्टीका शीर्षस्थ नेता, आकांक्षी र सबै सांसदले सर्वसम्मतिबाटै चयन गराउन सुझाएकाले ढिलाइ हुन गएको घिमिरेले बताए । ‘राम्रो परिणामका लागि र पार्टीलाई एकताबद्ध बनाउने मुख्य लक्ष्य भएकाले सर्वसम्मतिको बाटो लिइएको हो, कुनै वाद–विवादले ढिलाइ भएको होइन’ उनले थपे । अर्का एक पदाधिकारीका अनुसार सभापति थापालाई ससुरा केसी मनाउन समस्या भएकाले पनि ढिलाइ भइरहेको छ । थापा केसीलाई दलको नेतामा ल्याउन चाहिरहेका छैनन् । उनलाई संसदीय दलको नेता बनाउँदा आफैंमाथि राजनीतिक र नैतिक प्रश्न उठ्ने भन्दै थापा त्यसबाट बच्न समानुपातिकलाई नभएर प्रत्यक्ष निर्वाचित सांसदलाई संसदीय दलको नेता बनाउने मापदण्ड अघि सारिरहेका छन् । त्यस्तो मापदण्डले आङ्देम्बेसमेत पर्दैनन् । उपसभापति शर्मा भने पूर्वसहमहामन्त्री आङ्देम्बेलाई नेता बनाउन जोडबल गरिरहेका छन् । पूर्वमा कमजोर बन्दै गएको जनजाति प्रभाव जोगाउन वरिष्ठ नेता आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने तर्क शर्माको छ । आङ्देम्बेलाई अघि सार्दा पार्टीभित्र पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षसँग पनि सहमति जुटाउन सकिने शर्माको तर्क छ ।

