काठमाडौं – चालू आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म नेपालको निर्जीवन बीमा बजारमा तीव्र प्रतिस्पर्धा देखिएको छ। नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार मुलुकभर सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरूले नौ महिनाको अवधिमा कुल ३६ अर्ब ५८ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिमा कम्पनीहरूले कुल २२ लाख ९ हजार ९ सय ८६ वटा बीमालेख जारी गरेका छन्, जसले नेपाली बीमा बजारको विस्तार र पहुँचमा क्रमिक सुधार भइरहेको संकेत गर्छ।

मर्जरपछि निर्जीवन बीमा कम्पनीहरूको कारोबार रकम उल्लेख्य बढ्दै गएको छ। नौ महिनामा ६ वटा कम्पनीले ३ अर्ब रुपैयाँभन्दा बढीको व्यापार कटाउँदा १ अर्बभन्दा कम कारोबार गर्नेमा नेसनल इन्स्योरेन्स मात्र देखिएको छ। सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीले भने १ अर्ब १४ करोडको व्यापार गरेको छ। नियामक निकायले कारोबार रकममा आएको यो वृद्धिलाई मर्जरको सिनर्जीका रूपमा हेरिएको छ।

बजार हिस्सामा शिखरको स्पष्ट अग्रता

बजारको कुल हिस्सालाई केलाउँदा शिखर इन्स्योरेन्स एक्लैले ४ अर्ब ८० करोड १२ लाख ९८ हजार रुपैयाँको व्यापार गर्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ। शिखरले २ लाख ३८ हजार ६ सय ६७ वटा बीमालेख जारी गरी यो सफलता प्राप्त गरेको हो। शिखरको पछाडि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८३ करोड २३ लाख ६७ हजार रुपैयाँको व्यवसाय गर्दै बलियो चुनौती पेश गरिरहेको छ। सगरमाथा लुम्बिनीको बीमालेख संख्या २ लाख १ हजार ८ सय ३८ रहेको छ। व्यापारको आयतनका हिसाबले हिमालयन एभरेष्ट इन्स्योरेन्स तेस्रो स्थानमा छ, जसले ३ अर्ब ७४ करोड ३० लाख ५२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

बीमालेख संख्यामा युनाइटेड अजोडको आक्रामक उपस्थिति

रोचक कुरा के छ भने, बीमालेख संख्याका आधारमा भने युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा आक्रामक देखिएको छ। युनाइटेड अजोडले सबैभन्दा धेरै ३ लाख ५३ हजार ७ सय ३८ वटा पोलिसी बिक्री गरे पनि कुल बीमाशुल्क आर्जनमा भने २ अर्ब ५६ करोड ४६ लाख ६७ हजार रुपैयाँ मात्र संकलन गर्दै तुलनात्मक रूपमा पछाडि परेको छ। यसले युनाइटेड अजोडले साना र खुद्रा प्रकृतिका बीमा पोलिसीहरूमा बढी केन्द्रित भएको देखाउँछ।

३ अर्ब क्लबमा ६ कम्पनी, कडा प्रतिस्पर्धा

चैत मसान्तसम्म ६ वटा कम्पनीले ३ अर्ब रुपैयाँको व्यापारको आँकडा पार गरेका छन्। शिखर, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्टपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १२ करोड ९ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १० करोड ३३ लाख ६७ हजार रुपैयाँ संकलन गर्दै सिद्धार्थ प्रिमियरसँग कडा टक्कर दिइरहेको छ। यी दुई कम्पनीबीचको अन्तर निकै कम रहेको छ। त्यस्तै एनएलजी इन्स्योरेन्सले पनि ३ अर्बको सीमा कटाउँदै ३ अर्ब १ करोड ५ लाख ८७ हजार रुपैयाँको व्यवसाय गरेको छ।

पुराना र सरकारी कम्पनी तुलनात्मक रूपमा सुस्त

मर्जरपछिका ठूला कम्पनीहरूको दबदबा कायम रहँदा पुराना र विदेशी लगानी रहेका कम्पनीहरू भने तुलनात्मक रूपमा सुस्त देखिएका छन्। नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ संकलन गरेको छ। दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड ६८ लाख रुपैयाँको व्यापार गर्दा सानिमा जीआईसीले २ अर्ब ८ करोड १९ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ। नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स भने व्यवसायिक आकारमा केही पछाडि देखिएका छन्। राष्ट्रिय बीमा कम्पनीले २३ हजार ४ सय ४५ वटा मात्र बीमालेख जारी गरी १ अर्ब १४ करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ। नेशनल इन्स्योरेन्सले १ अर्बको आँकडा छुन सकेको छैन। नेशनलले १९ हजार ५ सय ९३ बीमालेख मार्फत ९८ करोड १२ लाख ९३ हजार रुपैयाँ संकलन गरेको छ।