काठमाडौं । प्रगतिशील लाेकतान्त्रीक पार्टी बनाउने बेलादेखि नै भूमिका खेलेका पूर्व माओवादी नेता सुदन किराँतीले अन्ततः बाबुराम र जनार्दनकाे पार्टी पनि त्यागेका छन् । केही समयअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदबाट राजीनामा दिएका किरातीले बुधबार साधारण सदस्य समेत त्याग गरे। उनी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी साथ उनले राजीनामा दिएका हुन्। हर्कले सुदनलाई पार्टीको वरिष्ठ नेता बनाउने र आगामी चुनावबाट काेशी प्रदेशकाे मुख्यमन्त्रीकाे वचन दिइसकेको नेताहरूले बताएका छन्। पाँच महिनाअघि मात्र सुदन नेकपाबाट जनार्दन शर्मासँगसँगै बाहिरिएका थिए। उनीहरूले डा बाबुराम भट्टराई, रास्वपा छाडेका सन्तोष परियारलगायतसँग मिलेर प्रलोपा गठन गरेका थिए। चुनाव अघि खोलिएको सो पार्टी चुनाव नआइपुग्दै थला पर्‍यो। चुनावमा सो पार्टीले एक सिट पनि जितेन। जनार्दन पराजित भए। बाबुरामले दिएको उम्मेदवारी फिर्ता लिए। सुदनले जित्ने सम्भावना नदेखेपछि उम्मेदवारी नै दिएनन्। बरु सुदनले आफ्नो क्षेत्र भोजपुर र धरानमा श्रम संस्कृतिका उम्मेदवारलाई सघाए। भोजपुरमा त घरघरै पुगेर उनले श्रम संस्कृतिकै ध्रुवराज राईलाई मत मागेका थिए। प्रतिनिधि सभाको सुनसरी २, भोजपुर र खोटाङमा प्रत्यक्षतर्फ जितेको श्रम संस्कृतिले समानुपातिकमा पनि ३ लाख मत कटाएको छ। ७ सांसद रहेको श्रमसंस्कृति पार्टीले कोसी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई टक्कर दिएको थियो। काेशीमा साे पार्टीकाे सम्भावना देखिएपछि मुख्यमन्त्री बन्ने आशमा उनी नयाँ पार्टीमा लागेकाे निकटस्थहरु बताउँछन् ।