दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर (समीर पल कपुर) सोमबार बिहान काठमाडौं आइपुगेका छन्। बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो।

तीन दिने औपचारिक भ्रमणका क्रममा कपुरले आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहसँगको भेटघाटबारे भने अझै टुङ्गो लागिसकेको छैन।

राष्ट्रपति डोनाल्ड ट्रम्प निकट रहेका कपुरलाई गत वर्ष ट्रम्प प्रशासनले तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लुलाई विस्थापित गर्दै नियुक्त गरेको थियो। उनी भारतीय मूलका हुन् — जन्म भारतमा भएको र बुबा भारतीय नागरिक रहेका छन् भने आमा अमेरिकी मूलकी हुन्। नियुक्तिपछि उनको भारतीय पृष्ठभूमिले निकै चर्चा पाएको थियो।

कपुर अमेरिकी नौसेना पोस्ट ग्राजुएट स्कुलका पूर्वप्राध्यापक तथा राष्ट्रिय सुरक्षा मामिलाका विज्ञ हुन्। ट्रम्पको अघिल्लो कार्यकालमा विदेश विभागको नीति योजना टोलीमा दक्षिण एसिया हेर्ने जिम्मेवारी सम्हालेका उनी दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति, भारत–पाकिस्तान सम्बन्ध र आतङ्कवादसम्बन्धी विषयमा विशेषज्ञ मानिन्छन्। यसअघि उनी पाकिस्तानका कट्टर आलोचकका रूपमा चिनिन्थे, तर पछिल्लो समय इरान–अमेरिका वार्तामा पाकिस्तानको मध्यस्थतामा उनको भूमिकाको पनि चर्चा हुने गरेको छ।

नयाँ सरकार गठनमा अमेरिकाको भूमिका रहेको विभिन्न टिप्पणी भइरहेका बेला कपुरको यो भ्रमणलाई कूटनीतिक रूपमा अत्यन्त अर्थपूर्ण मानिएको छ। दक्षिण एसिया र मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको परराष्ट्र नीति र बालेन सरकारले चालेका कदमहरूबारे अन्तर्राष्ट्रिय चासो बढेको छ।

भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा, आर्थिक सहयोग, अमेरिकी लगानी र रणनीतिक मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ। यो भ्रमणले नेपाल–अमेरिका सम्बन्धलाई नयाँ गति दिने वा नयाँ सरकारसँगको वाशिङ्टनको संलग्नता झल्काउने रूपमा हेरिएको छ।