काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

देउवा दम्पती स्वास्थ्य उपचारका लागि हाल विदेशमा छन् । आरजु राणाले विदेशबाटै ह्वाट्सएपमार्फत वरिष्ठ अधिवक्ताहरूसँग कानुनी परामर्श लिइरहेकी छन् । पक्राउ पुर्जीपछि देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ ।

सरकारले उनीहरू नेपाल नफर्किए ‘रेड नोटिस’ जारी गर्ने तयारी गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले देउवा दम्पतीले स्वदेश फर्केर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् ।

गत फागुनमा विदेश गएका देउवा दम्पतीको नेपाल फर्किने मिति अझै टुङ्गो लागेको छैन । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै देउवाले आफूहरूले कानुनबमोजिम सम्पत्ति विवरण पेश गरेको बताएका छन् । उनले भ्रामक प्रचार नगर्न पनि अपिल गरेका छन् ।

देउवा दम्पतीले विदेशबाटै मुद्दामा कानुनी लडाइँ लड्ने रणनीति बनाइरहेको स्रोतले जनाएको छ ।