काठमाडौं । हाल गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ, हुरीबतास र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मौसम पूर्वमानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस छ। त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।