ओली र लेखक अदालत जाने, पक्राउको प्रकृया नमिलेको दावी

काठमाडौं । जेन–जी आन्दोलन दबाएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान सुरु हुँदैछ। त्यसका लागि प्रहरीले सर्वप्रथम अदालतबाट अनुमति लिनुपर्नेछ, तर आज सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अदालतमा पेस गरिनेछ। अदालतमा पेस गर्नुअघि आज उनीहरूलाई न्यायिक हिरासतमा राखिनेछ। न्यायिक हिरासतमा प्रहरीले २३ र २४ को घटनाबारे सोधपुछ र बयान गर्नेछ। उनीहरूमाथि कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनलाई आधार मानेर बयान गरिनेछ। त्यही बयानका आधारमा जिल्ला सरकारी वकिल हुँदै जिल्ला अदालतमा कार्की आयोगले सिफारिस गरेको अभियोग वा थप अभियोगमा उनीहरूविरुद्ध मुद्दा दर्ता हुनेछ। यसैबीच जेन–जी आन्दोलनमा दमन गरिएको भन्दै गौरीबहादुर कार्कीको आयोगको कारबाहीका सिफारिसमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् । सरकारले पूर्वाग्रहपूर्ण तरिकाले प्रतिशोध साँध्न पक्राउ गरेको र यसविरुद्ध आफू राजनीतिक र कानुनी लडाइँमा जाने बताएका छन् । सरकारले शुक्रबार पहिलो मन्त्रिपरिषद् बैठकमा कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही आधारमा बिहान प्रहरीले लेखकलाई र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवासबाटै पक्राउ गरेको हो । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् । जेन–जी आन्दोलनबारे सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई पक्राउ गरेको छ । पक्राउ पर्नु पहिले ओलीले वरिष्ठ अधिवक्ता भट्टराई लगायतका कानुनव्यवसायीसँग छलफल गरेका थिए । ‘उहाँ (ओली)ले कानुनी लडाइँ लड्ने हो, तयारी गर्नुस् भन्नुभएको छ,’ भट्टराईले कान्तिपुरसँग भने, ‘भ्याएसम्म भोलि नै ओली र लेखकको तर्फबाट बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत जान्छौं ।’

