आन्दोलनकारीका रूपमा‘सिंहदरवार जलाउँछु’ भन्थे आज प्रधानमन्त्री बनेर छिर्दै बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन आज प्रधानमन्त्री बनेर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार छिर्दैछन् । कुनै बेला सिंहदरबार जालउँछु भन्ने अभिव्यक्ति दिएर आलोचना खेपेका बालेन त्यसको एक वर्ष पनि भएको जेनजी आन्दोलनमा सिंहदरबार जलेपछि त्यसैको बलमा भएको फागुन २१ को चुनावबाट सबैभन्दा ठूलो दलको नेता बनेका थिए । रास्वपाका उनै दल नेता बालेनलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउँदैछन् । मध्यान्न १२ः३४ मा हुने शपथपछि आज २ बजे उनी पदभार ग्रहण गर्नका लागि सिंहदरबार छिर्ने कार्यक्रम तय गरिएको छ । यसरी देशकाे कार्यकारी प्रमुख भएर उनी सिंहदरबार छिर्दा देशकाे प्रधानमन्त्री भएका हुनेछन् । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् । उनले थुप्रै सुधारका कार्यक्रमहरूबारे निर्णय गर्न लागेका हुन् । यसका लागि केही दिन अगाडि नै उनले सबै मन्त्रालयका सचिवहरूसँग सुधारका योजनाहरू माग गरेको समेत पाइएको छ। स्राेतका अनुसार बालेनको निर्देशनमा मुख्य सचिव सुमनराज अर्यालले सचिवहरूलाई पत्राचार गर्दै ५–५ सुधारका योजना पठाउन भनिएको थियो। दिउँसो १२:३४ बजे बालेनलाई राष्ट्रपति पौडेलले शपथग्रहण गराउने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । त्यस्तै, १०८ बटुकबाट स्वस्तिशान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने उनले बताए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि शपथको तयारी भइरहेको बताए । ‘राष्ट्रपति कार्यालयको प्रांगणमा शपथ हुन्छ, सबै तयारी भइरहेको छ,’ उनले भने । महामन्त्री बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीसँगै मन्त्रीहरूले पनि शपथ लिनेछन् । मन्त्रीका नाम टुंग्याउन सभापति लामिछाने र वरिष्ठ नेता बालेनबिच छलफल भइरहेको उनले बताए । विज्ञता, समावेशिता, भूगोल मिलाएर मन्त्रिपरिषद्ले पूर्णता पाउने उनको भनाइ छ । २:१५ बजे सिंहदरबारमा पदबहाली : प्रधानमन्त्री कार्यालयले केही मन्त्रालयसँग माग्यो सुधारका पाँच–पाँच एजेन्डा शपथपछि बालेनले २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्ने कार्यतालिका छ । प्रधानमन्त्रीको पदभार ग्रहणका लागि तयारी भइसकेको मुख्यसचिव सुमनराज अर्यालले जानकारी दिए । पदबहालीपछि प्रधानमन्त्रीको निर्देशनअनुसार काम हुने पनि उनले बताए । भोलि नै मन्त्रिपरिषद् बैठक बस्ने सम्भावनाको विषय पनि प्रधानमन्त्रीको निर्देशनअनुसारै हुने मुख्यसचिव अर्यालको भनाइ छ । प्रधानमन्त्री कार्यालयले नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद् गठन भएपछि त्यहाँबाट निर्णय गर्ने गरी केही मन्त्रालयहरूसँग सुधारका कम्तीमा पाँच–पाँचवटा एजेन्डा मागेको छ । ती एजेन्डा तत्तत्् मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । तिनलाई पनि प्रधानमन्त्री कार्यालयले समेटेर नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । मुख्यसचिव सुमनराज अर्यालले प्रधानमन्त्रीका लागि कार्यालयका तर्फबाट आवश्यक तयारी र व्यवस्थापन भइसकेको बताए । उनका अनुसार प्रधानमन्त्रीका लागि कार्यकक्ष र मन्त्रिपरिषद् बैठक बस्ने पूर्वाधारको प्रबन्ध गरिएको छ । मन्त्रिपरिषद् बैठकका लागि भने सम्भावित आकार हेरेर विकल्पसहित हलको व्यवस्थापन गरिएको छ । बिहीबार दिउँसो बालेनको तर्फबाट एक टोली प्रधानमन्त्री कार्यालय हेर्नसमेत गएको थियो । कार्यालयमा बालेनका लागि वास्तुअनुसार सामान्य आसन परिवर्तन गरिएको छ ।

