काठमाडौं । १९ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि प्रश्नपत्र र उत्तरपुस्तिका देशका सबै ७७ जिल्लामा पुगेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार ती सामग्री जिल्ला प्रहरी कार्यालयमार्फत परीक्षा केन्द्रमा पु¥याइनेछ।

यस वर्ष देशभर (जापानमा एकसहित) १,९९१ परीक्षा केन्द्र तोकिएका छन् भने कुल ५ लाख ९ हजार ९६१ विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये ४ लाख ४६ हजार ५७६ नियमित र ६३ हजार ४८५ ग्रेडवृद्धितर्फका छन्।

परीक्षा १९ देखि २९ चैतसम्म बिहान ८ बजेदेखि सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी, त्यसपछि नेपाली र गणित लगायत विषयको परीक्षा हुनेछ। प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापेको हो।

परीक्षा मर्यादित र सुरक्षित बनाउन करिब १२,५०० सुरक्षाकर्मी परिचालन गरिनेछ भने परीक्षा केन्द्रमा मोबाइललगायत डिभाइस निषेध गरिएको छ। अधिकांश केन्द्र सामुदायिक विद्यालयमा छन् र केन्द्राध्यक्ष विद्यालय साटासाट गरेर खटाइनेछ।

परीक्षाको नतिजा असार तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ।