शपथमा नवनिर्वाचित सांसदहरूलाई पहिचान झल्किने पोसाकमा उपस्थित हुन आग्रह

सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। निर्वाचित सदस्यहरूले शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुनुपर्नेछ।

उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्ने सूचनामा उल्लेख छ।

सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ।

त्यस्तै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि विशेष व्यवस्था गरिएको छ। यस्ता सदस्यहरूले शपथको ब्यहोरालाई आफ्नो मातृभाषामा अनुवाद गरी सोको प्रतिलिपि शपथ कार्यक्रमभन्दा तीन दिन अगावै संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा  उपलब्ध गराउनुपर्नेछ।

सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको यस सूचनामा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आआफ्नो जिल्लाका निर्वाचित सदस्यहरूलाई यसबारे जानकारी गराइदिन समन्वयका लागि अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *