शीर्ष नेताहरुले गरे मतदान

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा देशका विभिन्न स्थानबाट शीर्ष नेताहरुले मतदान गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह, नेकपाका वर्षमान पुन र पूर्व सभामुख अेानसरी घर्ती, एमाले महासचिव शंकर पोखरेल, नेता योगेश भट्टराई लगायतका नेताहरुले मतदान सम्पन्न गरेका हुन् । प्रचण्डले चितवनबाट मतदान गरेका छन्। मत दिनको लागि उनी हिजै चितवन पुगेका थिए। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट केहीबेरअघि प्रचण्डले मतदान गरेका हुन्। चितवन ३ बाट प्रचण्डकी छोरी रेनु दाहाल नेकपाकी उम्मेदवार बनेकी छिन्। अघिल्लो पटकको चुनाव गोरखा–२ बाट जितेका प्रचण्ड यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। मत दिएलगत्तै प्रचण्डले हेलिकप्टरमार्फत रुकुम पूर्व जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। बालेनले काठमाडौँबाट मतदान गरेका छन्। झापा–५ बाट उम्मेदवारी दिए पनि उनको मतदाता नामावली काठमाडौँमै छ। सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले केहीबेरअघि मतदान गरेका बालेनको सचिवालयले जनाएको छ। मतदान लगत्तै उनी हवाइ मार्ग हुँदै झापा ५ जाने कार्यक्रम छ।

