व्यवस्था बदल्ने शक्ति अब अवस्था बदल्ने अभियानमा छौ – प्रचण्ड

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी अपिल सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल ले संयुक्त रूपमा जारी गरेको अपिलमा राष्ट्रिय स्वाधीनता, सुशासन, समृद्धि र आर्थिक–सामाजिक रूपान्तरणलाई मुख्य एजेन्डा बनाउँदै जनतालाई परिवर्तनको नयाँ अध्याय सुरु गर्न आह्वान गरिएको छ ।
२२ वटा कम्युनिष्ट तथा समाजवादी शक्तिहरूको एकीकरणबाट निर्माण भएको नेकपाले यस निर्वाचनलाई केवल सत्तापरिवर्तनको अवसर नभई नीतिगत र संरचनात्मक रूपान्तरणको ऐतिहासिक सम्भावनाका रूपमा चित्रण गरेको छ । अपिलमा उल्लेख छ, “हामी व्यवस्था बदल्ने शक्ति हौँ, अब जनताको अवस्था बदल्ने स्पष्ट दृष्टि, ठोस योजना र दृढ संकल्पका साथ मैदानमा उत्रिएका छौँ ।” विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै अब समृद्धि, समानता र आत्मनिर्भरतातर्फ निर्णायक कदम चाल्ने समय आएको पार्टीको ठहर छ ।
नेकपाले सुशासन र पारदर्शितालाई आफ्नो अभियानको केन्द्रमा राखेको छ । भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गर्ने घोषणा गर्दै उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति स्रोतको विस्तृत जाँच गरी अवैध ठहरिएमा त्यसलाई कानुनी प्रक्रियाअनुसार राष्ट्रियकरण गरिने उल्लेख छ । राज्यस्रोतको दुरुपयोग, कमिसनतन्त्र र नीतिगत भ्रष्टाचारको अन्त्य नगरी समृद्धि सम्भव नहुने भन्दै पार्टीले इमानदार र जवाफदेही शासन प्रणाली निर्माण गर्ने संकल्प दोहोर्याएको छ ।
वर्तमान निर्वाचन प्रणाली अत्यधिक खर्चिलो र जटिल बन्दै गएको उल्लेख गर्दै नेकपाले यसलाई सरल, कम खर्चिलो र राजनीतिक स्थिरता सुनिश्चित गर्ने ढाँचामा रूपान्तरण गर्ने प्रस्ताव अघि सारेको छ । जननिर्वाचित संविधानसभाबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूको रक्षा गर्दै आवश्यक सुधार संवैधानिक प्रक्रियाबाट गर्ने धारणा अपिलमा प्रष्ट पारिएको छ । राजनीतिक अस्थिरता र सत्ताकेन्द्रित चलखेलबाट मुक्त स्थिर सरकार निर्माणका लागि जनमत निर्णायक हुने विश्वास पार्टीले व्यक्त गरेको छ ।
अर्थतन्त्रका क्षेत्रमा नेकपाले बेरोजगारी, तीव्र व्यापार घाटा, उत्पादनहीनता र महँगीलाई मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ । आयातमुखी र उपभोगवादी ढाँचाबाट मुक्त भई उत्पादनमुखी, आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य पार्टीले राखेको छ । कृषि क्षेत्रमा आधुनिकीकरण, सिंचाइ विस्तार, भण्डारण र बजार सुनिश्चितता; उद्योग क्षेत्रमा राष्ट्रिय पूँजीको संरक्षण र प्रवर्द्धन; ऊर्जा क्षेत्रमा जलविद्युत्, सौर्य तथा वैकल्पिक ऊर्जाको अधिकतम उपयोग; तथा पर्यटन क्षेत्रमा प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाको समुचित विकासमार्फत रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम प्रस्तुत गरिएको छ ।
साथै, प्रगतिशील कर प्रणाली लागू गरी धनको न्यायोचित पुनर्वितरण गर्ने, साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने, श्रमिक अधिकारको रक्षा गर्ने र वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउँदै स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्य अपिलमा उल्लेख छ । युवाशक्तिलाई उत्पादन र नवप्रवर्तनसँग जोड्दै उद्यमशीलता विकासका लागि विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि जनाइएको छ ।
‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ लाई दीर्घकालीन मार्गदर्शक सिद्धान्तका रूपमा अघि सार्दै नेकपाले सामाजिक न्याय, समानता र समावेशीतालाई आफ्नो राजनीतिक दर्शनको मूल आधार मानेको छ । जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गर्दै छुवाछुत, छाउपडी, बोक्सी प्रथा जस्ता कुप्रथाविरुद्ध कडा कानुनी र सामाजिक अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई मौलिक हकको रूपमा प्रभावकारी कार्यान्वयन गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने सेवा प्रणाली विकास गर्ने पार्टीको योजना छ ।
शिक्षा क्षेत्रमा वैज्ञानिक, प्राविधिक र रोजगारमुखी पाठ्यक्रम विकास; स्वास्थ्य क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय सेवा विस्तार; तथा सामाजिक सुरक्षा योजनालाई थप प्रभावकारी र लक्षित बनाउने प्रतिबद्धता अपिलमा समेटिएको छ । संघीय संरचनालाई सबल बनाउँदै प्रदेश र स्थानीय तहलाई आवश्यक स्रोत, अधिकार र क्षमतासहित सशक्त बनाइने धारणा पनि व्यक्त गरिएको छ ।
राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा पार्टीको प्रमुख प्राथमिकतामा रहेको जनाउँदै असमान सन्धि–सम्झौताहरूको पुनरावलोकन, राष्ट्रिय हितविपरीत रहेका प्रावधानहरूको खारेजी तथा अतिक्रमित नेपाली भूमि फिर्ता लिन कूटनीतिक पहल सशक्त बनाइने उल्लेख छ । समानता, पारस्परिक सम्मान र अहस्तक्षेपको सिद्धान्तमा आधारित सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै छिमेकी तथा विश्व समुदायसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने नीति पार्टीले अघि सारेको छ ।
अपिलको अन्त्यमा नेकपाले जनतालाई परिवर्तनको यात्रामा सहयात्री बन्न आग्रह गरेको छ । “हामीले व्यवस्था परिवर्तनको नेतृत्व गर्यौँ, अब समृद्ध र न्यायपूर्ण समाज निर्माणको जिम्मेवारी पनि लिन्छौँ,” अपिलमा भनिएको छ । फागुन २१ लाई इतिहासको नयाँ मोड बनाउँदै स्थिरता, सुशासन र समृद्धिको पक्षमा मतदान गर्न पार्टीले सम्पूर्ण मतदातासमक्ष हार्दिक अनुरोध गरेको छ ।

