गौरमा अनिश्चितकालीन कर्फ्यु: बिहान २ घण्टा निस्कन पाउने

काठमाडौँ । रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज आइतबार पनि कायम राखिएकाे छ । अहिले बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म अत्यावश्यक कामका लागि खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तर यस अवधिमा पनि सभा जुलुस भने गर्न नपाइने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विज्ञप्तिमा उल्लेख गरेका छन्। यसपछि बिहान साढे ८ बजेदेखि भने कर्फ्यु अर्को आदेश नभएसम्मका लागि निरन्तर रहनेछ। गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयको चार किल्लामा कर्फ्यु लगाइएको हो। यो क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, सभा, जुलुस तथ प्रदर्शन गर्न रोक लगाइएको छ। स्थानीय समुदायबीच विवाद उत्पन्न भएपछि शनिबार दिउँसे १ बजेदेखि कर्फ्यु लगाइएको थियो। स्थिति नियन्त्रणमा आएको भए पनि थप हिंसाका घटना हुन नदिन कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कर्फ्युको आदेश उल्लंघन गर्नेलाई कारबाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ। शान्ति स्थापना गर्नका लागि सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ। फागुन ७ गते राति ९:५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो । राति नै ढुङ्गा हानाहान हुँदा ६ जना घाइते भएका थिए भने आज बिहान ९:१५ बजे पुनः सोही विषयलाई लिएर दुवै पक्षका करीब ५०० को सङ्ख्यामा भेला भएका मानिसहरूबीच दोहोरो झडप भएको छ । स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको थियो । भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १२ राउण्ड ब्ल्याङ्क फायर (हवाई फायर) र ४० सेल अश्रुग्यास प्रहार गरेका छन् । हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ । झडपमा परी थप ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय २७ वर्षीय रामप्रवेश साह, १४ वर्षीय महम्दिन मिया, २० वर्षीय शेख सही आलम मिया, १७ वर्षीय शेख सहिब र ४२ वर्षीय महम्मद खुर्सेद रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

