रुकुम पूर्व । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पूर्वको भुमे गाउँपालिका–१ लुकुममा खाम मगर समुदायको मौलिक संस्कारअनुसार भव्य स्वागत गरिएको छ ।

रुकुम पूर्व प्रवेशसँगै स्थानीय खाम मगर समुदायले सेतो टीका र परम्परागत पगरी लगाएर प्रचण्डलाई सम्मान व्यक्त गरेका हुन् । स्थानीय संस्कृति र परम्पराको सम्मानस्वरूप गरिएको स्वागत कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

सोही अवसरमा भुमे गाउँपालिका–१ का वडाध्यक्षले वडाबासीहरूको तर्फबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रचण्डसमक्ष स्थानीय विकास, पूर्वाधार, रोजगारी र सेवा–सुविधासँग सम्बन्धित मागहरू प्रस्तुत गर्नुभएको छ ।

स्थानीय मतदातालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले लुकुम गाउँलाई नमुना गाउँका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताको सहभागितामा शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर विकासका काम अघि बढाइने बताउनुभयो ।

प्रचण्डले रुकुम पूर्व जनआन्दोलन र परिवर्तनको ऐतिहासिक भूमि भएको उल्लेख गर्दै यहाँका जनताको भरोसा र अपेक्षालाई नीति र कार्ययोजनामार्फत पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।