जसको विचार नयाँ छ, त्यो नै नयाँ हो, अहिले नेपालमा हामी मात्रै नयाँ हौँ : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विचारका आधारमा आफ्नो पार्टी मात्र नयाँ रहेको बताउनुभएको छ । शनिबार सिन्धुलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालमा नयाँ र पुराना भन्न थालिएको छ । जसको विचार नयाँ छ, त्यो नै नयाँ हो । अहिले नेपालमा हामी मात्रै नयाँ हौँ । गणतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्वलगायतका मुद्दाहरूभन्दा अर्को मुद्दा छैन । त्यसैले नेपाली कम्युनिष्ट पार्टी नै सबैभन्दा नयाँ पार्टी हो । हामी नै नयाँ हौँ ”
उहाँले नेपाली कम्युनिष्ट पार्टी परिवर्तनको शक्ति भएको र भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा अभियान चलाउन सक्ने एकमात्र पार्टी आफ्नो भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली कम्युनिष्ट पार्टी परिवर्तनको शक्ति हो । भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा अभियान चलाउन सक्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी हो ।”
जनयुद्धको आधार इलाका तथा महान सहिदहरूको जिल्लाका रूपमा सिन्धुलीलाई स्मरण गर्दै उहाँले भावुक हुँदै भन्नुभयो, “जनयुद्धको आधार इलाका भएको जिल्ला सिन्धुली जिल्ला हो । महान सहिदको जिल्ला हो सिन्धुली । महान सहिदप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु । वेपत्ता योद्धाप्रति सम्मान गर्न चाहन्छु ।”
जेनजी आन्दोलनपछिको अवस्था सामान्यीकरण गर्न आफू र माधवकुमार नेपालले निर्वाचनलाई विकल्प मानेर काम गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “ जेनजी आन्दोलनपछिको अवस्था सामान्यकरण गर्न माधवजी र मैले नै निर्वाचन नै विकल्प भनेर काम गरेका छौँ । हामी करिब करिब एक्लै परेका थियौँ निर्वाचन भन्नका लागि । तर सबै अहिले चुनावमा केन्द्रित हुँदा खुसी लागेको छ ।”
२६ वटा राजनीतिक दल तथा समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्टहरूको मूलधार बनेको बताउँदै उहाँले भन्नुभयो, “२६ वटा राजनीतिक दल तथा समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्टहरुको मूलधार बनेको छ । लहर हाम्रो पक्षमा आएको छ । विस्तारै विश्वास आएको छ ।”
सिन्धुलीमा रहेको आन्तरिक समस्या बारे उहाँले टिकट वितरण प्रक्रियाअनुसार भएको बताउनु भयो । उहाँले भन्नुभयो, “यो पटक मैले सिन्धुलीमा आन्तरिक समस्या छ भन्ने थाहा थियो । पहिल्यैदेखि हल गर्ने प्रयास गरियो । जहाँ हरिबोल इन्चार्ज हुनुहुन्थ्यो पूर्वमा पनि बिग्रेको थियो । आफ्नै घर भएको प्रदेश बागमतीमा आउनुस् । मलाई पदाधिकारी हटाइदिए हुन्छ तर पूर्वको इन्चार्ज छाड्दिन भन्नुभयो । उहाँलाई दुई नम्बरबाट दिन्छु भने । उहाँले मेरो रुची छैन भन्नुभयो ।”
टिकट वितरणबारे उहाँले भन्नुभयो, “टिकट बाँड्नका लागि कार्यदल बनाइएको थियो । कार्यदलले तपाईंहरूले एकजनामा ल्याउने नभए दुई जनाको नाम सर्ट लिस्ट गर्न भन्यौँ । उहाँहरूले हरिबोल र लेखनाथको नाम दिनुभयो। लेखनाथलाई विशेष सुविधा दिएको होइन । प्रदेशले पठाएको सिफारिसमा दुई जना मध्ये हरिबोल नलडेपछि राजनलाई टिकट दिइएको हो ।”
बागी उम्मेदवारीको प्रसंगमा उहाँले भन्नुभयो, “काठमाडौं बोलाएर पनि बागी उम्मेदवारको प्रस्तावक बसेकामा मैले हरिबोलसँग कुराकानी गरेर सच्चाउन पर्छ । सबैले बस्नै पर्छ भनेर बसे, नबसेको भए हुन्थ्यो भन्नुभयो । फिर्ता लिन भनेको फिर्ता लिनु भएन । त्यसपछि प्रक्रियाअनुसार कारबाही गरियो ।”
हरिबोल गजुरेललगायत बागी कमरेडहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हरिबोललगायतका कमरेडलाई म भन्न चाहन्छु । गल्ती सच्चाउनुस् र आउनुस् । सिन्धुली जिल्लालाई लालकिल्ला गराउन लाग्नुस् । उहाँहरूले रियलाइज गर्नुहुन्छ । गर्नु भएन भने जनताले नै गराइदिन्छन् ।”
राजन दाहालको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “राजन दाहालले सदनमा खेलेको भूमिकालाई तपाईं सिन्धुली बासी नेता कार्यकर्ताले गर्व गर्नु भएको छ भन्ने मलाई विश्वास छ । सिन्धुलीका जनताले मात्र होइन सिंगो राष्ट्रले चिनेको छ । उहाँले सदनमा सुशासनका पक्षमा खेल्नु भएको भूमिकाका लागि म धन्यवाद दिन्छु ।”

