काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाको हत्या गर्ने र नेपालका धरोहर जलाउनेहरूले देशको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीले मात्रै देशको सही नेतृत्व गर्न सक्ने बताउनु भयो ।

उहाँले भ्रष्टाचारविरुद्ध, सुशासन र समृद्धिको पक्षमा दृढ रूपमा उभिने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै भएको कुरा जनतामाझ स्पष्ट रूपमा बुझाउन सके पार्टी पहिलो स्थानमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, “जेनजी आन्दोलनका नाममा कलिला बालबालिकाको हत्या गर्ने, राष्ट्रिय धरोहर जलाउने र सुरक्षाकर्मीको क्रूर हत्या गर्नेहरूले देशको नेतृत्व गर्न सक्दैनन् । सच्चा नेतृत्व दिन सक्षम पार्टी नेपाली कम्युनिष्ट पार्टी मात्र हो ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले आफ्नो पार्टी संसद् पुनर्स्थापना वा सर्वदलीय सरकारको पछि नलागी सुरुदेखि नै निर्वाचनको पक्षमा उभिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अन्य दलहरू पनि मन नलागे पनि चुनावमा होमिएका छन् । हामी भने सुरुदेखि नै यो अभियानमा थियौं । आम नागरिकको मत पनि चुनावकै पक्षमा छ ।”

देशभर आयोजना गरिएका सन्देश सभामा जनताको उत्साहपूर्ण सहभागिता रहेको उल्लेख गर्दै उहाँले त्यसले पार्टीप्रतिको बढ्दो विश्वास झल्काएको बताउनुभयो । विगतका कमीकमजोरी सुधार्दै राष्ट्र बचाउने र देश विकास गर्ने चाहनालाई आत्मसात् गर्दै नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको उहाँको भनाइ थियो ।

प्रचण्डले पार्टीले कसैसँग पनि राजनीतिक समीकरण नगर्ने स्पष्ट धारणा रहेको बताउनुभयो । केही व्यक्तिहरूले पहिले नकार गरिएका पार्टी तथा व्यक्तिसँग नेपाली कम्युनिष्ट पार्टीको समीकरण बनेको भन्दै प्रचार गरिरहेको आरोप लगाउँदै उहाँले त्यसलाई असत्य र भ्रमपूर्ण भनेर खण्डन गर्नुभयो । पार्टी जनतामाझ आफ्नै कुरा राखेर अघि बढ्ने र कुनै समीकरणमा नजाने उहाँले स्पष्ट पार्नुभयो ।

विभिन्न भेटघाटका क्रममा नकारात्मक प्रचार भइरहेको र सामाजिक सञ्जालमा भ्रम फैलाइँदै आएको भन्दै उहाँले ती भ्रमलाई अस्वीकार गर्न तथा पार्टीका उम्मेदवारको पक्षमा सक्रिय रूपमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । देशभरबाट प्राप्त रिपोर्टका आधारमा नेपाली कम्युनिष्ट पार्टी नै सबैभन्दा बढी उत्साह र उमंगका साथ जनताको घरदैलोमा पुगेको तथा अहिले पार्टी एक नम्बरमा रहेको उहाँले दाबी गर्नुभयो ।

प्रचण्डले जेनजी आन्दोलनपछि जनतामाझ पुग्ने अभियानको सुरुवात नेपाली कम्युनिष्ट पार्टीले नै गरेको बताउनुभयो । जनताका मागलाई सम्बोधन गर्ने गरी पार्टीको घोषणापत्र अन्तिम चरणमा पुगेको तथा आजभोलिमै टुंगिने जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले खुसी व्यक्त गर्दै विभिन्न पार्टी तथा नेताहरूसँग संवाद भइरहेको र उनीहरूको कुरा सुन्दा आम रूपमा सक्रियता नेपाली कम्युनिष्ट पार्टीकै देखिएको उल्लेख गर्नुभयो । जनताको साथ तारा चुनाव चिन्हमा रहेको तथा उभार पार्टीकै पक्षमा देखिएको उहाँले बताउनुभयो ।

अन्त्यमा, प्रचण्डले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई जनताको घर–घरमा पुगेर यी विषयहरू स्पष्ट रूपमा बुझाउन निर्देशन दिनुभयो । पार्टीभित्र रहेका साना असमझदारी निर्वाचनपछि समाधान गर्ने उल्लेख गर्दै हालका लागि सबै विषय थाँती राखेर एकताबद्ध रूपमा निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।