काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई आत्मसमीक्षा गर्दै बृहत् कम्युनिस्ट एकतामा सामेल हुन आग्रह गर्नुभएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गराउँदै प्रचण्डले बताउनुभयो, “कुनै आवेगमा नभई राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिस्ट आन्दोलनका घटकहरूलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरिएको हो ।”

उहाँले समाजवादी मोर्चामा हुँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्योलको भुमरीमा परेको बताउनुभयो । उहाँले थप्नुभयो, “जेनजी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो लाग्यो । हामीले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोज्यौं । विप्लव पक्षलाई अझै अवसर बाँकी छ । वास्तविक घर यही हो, यताउता भौतारिएर केही हुँदैन । आत्मसमीक्षा गरेर एकतामा आए स्वागत गर्न तयार छौं ।”

प्रचण्डले अहिले देश असहज परिस्थितिमा रहेको र एकताबद्ध भएर देशव्यापी अभियानमा नगए अर्को दुर्घटनामा जान सक्ने भएकाले कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने जोड दिनुभयो । उहाँले अन्य कम्युनिस्ट घटकहरूलाई पनि एकतामा सामेल हुन आह्वान गर्नुभएको छ ।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताहरूलाई नेकपामा प्रवेश गराइएको थियो ।