काठमाडौं । शेरबहादुर देउवा पक्षका नेता पुर्णबहादुर खड्काले निर्वाचन आयोगले गगन थापा पक्षलाइ बैधानिकता दिए देशभर आन्दाेलन गर्ने चेतावनी दिएका छन् । आयाेग दबाब र षडयन्त्रमा पर्न नहुने उनले बताए । बिहान आयोगमा पुगेपछि फर्केका खड्काले पार्टी कार्यलय सानेपमा बोल्दै भने, ‘पार्टीको विधान र संविधान विपरित काम गरे आयोगले लोकतन्त्रको कालो बादललाई साथ दिनेछ भने अन्यथा निर्णय गर्यो भने नेपाली कांग्रेस देशभर आन्दोलित हुनेछ।’ उनले कांग्रेसको विधान विपरित आयोगले निर्णय गरे वडावडामा आन्दोलन पनि गर्ने बताए। ‘हामी निर्वाचन आयोगलाई भन्न चाहन्छौं- नेपाली कांग्रेसको विधान, मुलुकको संविधान, निर्वाचन ऐनअनुसार यदि तलमाथि भएर निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि मडारिएको कालो बादललाई साथ दिँदै यदि निर्वाचन आयोगले नेपाली कांग्रेसको विधानविपरीत अन्यथा निर्णय गर्‍यो भने नेपाली कांग्रेसले देशभरि आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुने छैन। हामी वडादेखि राजधानीमा चारतारे झन्डा र रूख लिएर अघि बढ्छौं,’ उनले भने। कार्यवाहक सभापति खड्काले पार्टीलाई क्षति पुर्‍याउने गरी विशेष महाधिवेशन भएको पनि बताए। ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने तर बोलाउन सक्ने व्यवस्था छैन, केन्द्रीय समितिले मात्र विशेष महाधिवेशन र कार्यविधि बनाउन सक्छ,’ उनले भने, ‘विशेष महाधिवेशन माग गर्नेहरूले नियमित महाधिवेशन विकल्पमा राखेकोले हामी नियमित महाधिवेशतर्फ अघि बढेको अवस्थामा विशेष महाधिवेशनको औचित्य थिएन।’ तर गगन थापा र विश्वप्रकाश शर्माले ‘अवैधानिक भेला’ गरी त्यसलाई विशेष महाधिवेशन भनेको उनको दाबी थियो। ‘विशेष महाधिवेशन गर्न हुन्न, यसले पार्टी विभाजन हुन्छ भनेर हामीले भनिरहेका थियौं। तर एक जनाले विष पिउँछौं भन्नुभयो, अर्कोले त्यस्तो अवस्था आए हलबाट पहिले बाहिर निस्कन्छु भन्नुभएको थियो। यस्तो झुटो आश्वासन र वचन दिएर उहाँहरूले पार्टीलाई विखण्डनमा पुर्‍याउनुभयो,’ उनले भने।