गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो जग्गा उत्पादनमूलक बनाउन सामूहिक र व्यवसायिक कृषिलाई प्राथमिकता दिएर नयाँ कार्यक्रम अघि सारेको छ । 

संघीय सशर्त कार्यक्रमअन्तर्गत कृषियोग्य बाँझो जमिन भाडामा दिन इच्छुक जग्गाधनी र खेती गर्न चाहने कृषकबाट आवेदन मागिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेले जानकारी दिए ।

२१ दिनभित्र आवेदन दिनुपर्ने गरी सुरु गरिएको यो कार्यक्रम बसाइँसराइ र श्रमशक्ति बाहिरिनुका कारण लामो समयदेखि बाँझै रहेका उर्वर जमिनलाई पुनः उत्पादनमा ल्याउनका लागि महत्वपूर्ण हुने जनाइएको छ । स्थानीय युवालाई गाउँमै कृषि व्यवसायतर्फ आकर्षित गर्दै रोजगारी सिर्जना गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको प्रमुख पाण्डेले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामसुन्दर पोख्रेलका अनुसार, आवेदन दिने जग्गाधनी वा कृषकले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ । लामो समयदेखि प्रयोगमा नआएका जमिनलाई व्यवस्थित खेतीयोग्य अवस्थामा ल्याई कृषि उत्पादन बढाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइिएको उनले बताए ।

यसैबीच, उखुको पकेट क्षेत्रका रूपमा पहिचानिएको छत्रकोट गाउँपालिकाले उखु खेती प्रवर्द्धनलाई निरन्तरता दिने भएको छ । पालिकाले यस वर्ष पनि ५० प्रतिशत अनुदानमा उखुको बीउ वितरण गर्ने निर्णय  नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत सञ्चालन हुने यस योजनामा सहभागी हुन इच्छुक कृषक, समूह तथा सहकारी संस्थाले १५ दिनभित्र वडा कार्यालयमा आवेदन दिनुपर्नेछ ।

गाउँपालिकाका अनुसार, बाँझो जमिनको प्रभावकारी सदुपयोग र उखुजस्ता नगदे बालीको प्रवर्द्धनमार्फत कृषकको आम्दानी वृद्धि हुने, स्थानीय उत्पादनमा बढोत्तरी हुने र कृषि क्षेत्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।