काठमाडौँः हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जि आन्दोलनका क्रममा क्षति पुगेका सम्पूर्णलाई यथासम्भव दाबी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको र हालसम्म हिमालयन एभरेस्टमार्फत विमा भई क्षतिपूर्तिको दाबी गरेका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दाबी वापत रु. २१,७४,४५,८३१ (रु. एक्काइस करोड चौहत्तर लाख पैँतालीस हजार आठ सय एकतीस रुपैयाँ) भुक्तानी गरेको जनाएको छ ।

उक्त दाबी भुक्तानी रकम जेन जि आन्दोलनका क्रममा क्षति पुगेका सम्पूर्णको अघिल्लो तथा अन्तिम दाबी भुक्तानी वापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको दाबी विभाग प्रमुख रोज राज लुइटेलले जानकारी दिनुभयो ।

साथै, उच्च प्राथमिकताका साथ भईरहेको दाबी भुक्तानी असोज २१ गते मंगलबारबाट पुनः यथावत् हुने कम्पनीले जनाएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विपन्न प्रभावितलाई ध्यानमा राख्दै, उनीहरूको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो । यस प्रयासले प्रभावितहरूलाई विपत्तिका परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले उल्लेख गरेको छ ।

यसका साथै, हिमालयन एभरेस्टमार्फत विमा भई क्षतिपूर्तिको दाबी भुक्तानी पाउन बाँकी रहेका विमितहरूलाई आवश्यक कागजात र प्रक्रिया पूरा गरी आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।