भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५), काठमाडौं
ओमस्टोन होटल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) र नागरिक क्यापिटल लिमिटेडबीच प्रारम्भिक साधारण सेयर निष्कासन (IPO) को लागि इशु म्यानेजर नियुक्त गर्ने सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा ओमस्टोन होटल्स लिमिटेडका प्रबन्ध निर्देशक श्री रमेश कुमार हमाल र नागरिक क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा प्रमुख विदेशी लगानीकर्ता श्री विष्णु मोरको पनि उपस्थिति थियो। सम्झौता अनुसार, आगामी सार्वजनिक निष्कासन (IPO) मा नागरिक क्यापिटल लिमिटेड इशु म्यानेजरको भूमिका निर्वाह गर्नेछ।

दुसित थानी हिमालयन रिसोर्ट सन् २०२३ को चौथो त्रैमासिकदेखि धुलिखेल, पातलेखेत, काभ्रेपलाञ्चोकमा सञ्चालनमा आएको हो। थाइल्याण्डको विश्वप्रसिद्ध आतिथ्य शृंखला Dusit International को फ्ल्यागसिप लग्जरी रिसोर्टका रूपमा नेपालमा सञ्चालनमा आएको यस रिसोर्टले हिमाल र उपत्यकाको मनोरम दृश्यसँगै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। नेपाललाई उच्च मूल्य (High-Value) पर्यटनको गन्तव्य बनाउन यसले कोशेढुङ्गा साबित गर्ने लक्ष्य लिएको छ।

दुसित थानी आतिथ्य शृंखलाले हाल नेपालसहित १८ वटा मुलुकमा सेवा विस्तार गरेको छ। राजधानी काठमाडौंबाट करिब ३८ किलोमिटर टाढा रहेको धुलिखेलस्थित यो रिसोर्ट विभिन्न सेमिनार, सम्मेलन र कार्यक्रमहरूको आकर्षक स्थल पनि बन्दै आएको छ।

यसैगरी, नागरिक क्यापिटल लिमिटेडले वित्तीय सल्लाह (Financial Advisory), लगानी व्यवस्थापन (PMS) तथा म्युचुअल फन्डलगायतका क्षेत्रमा नवप्रवर्तन गर्दै व्यापक वित्तीय सेवा प्रदान गर्दै आएको छ। यस संस्थाका अध्यक्ष श्री राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठ रहेका छन्। नागरिक क्यापिटललाई नेपाल धितोपत्र बोर्डले नियमन गरेको छ भने यसमा सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष तथा ख्यातिप्राप्त उद्योगी व्यवसायीहरूको समेत सह-लगानी रहेको छ।