काठमाडौं, भदौ ६ ।
एशियन लाइफ इन्स्योरेन्सले आफ्नो पॉलिसीधारकलाई विभिन्न स्वास्थ्य उपचार सेवामा छुट दिने योजना सञ्चालन गरेको छ । कम्पनीले पॉलिसीधारकले २० प्रतिशतसम्म छुट सुविधा पाउने गरी स्वास्थ्य उपचार सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत बीमितले एशियन लाइफसँग सम्झौता भएका स्वास्थ्य संस्थाबाट उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन् । कम्पनीले दिएको जानकारीअनुसार, यो सुविधा कन्सल्टेन्ट ओपीडी/इमर्जेन्सी ओपीडी, सामान्य बेड प्रति दिन (भर्ना), क्याबिन प्रति दिन (भर्ना), आईसीयू, एनआईसीयू, पोस्ट–अपरेटिभ रुम, सामान्य शल्यक्रिया, हड्डी रोग, स्त्रीरोग, ल्यापारोस्कोपिक सर्जरी, प्याथोलोजी टेस्ट, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, एन्डोस्कोपी र औषधि उपचारलगायत सेवामा लागू हुनेछ ।

बीमा पॉलिसीधारकले छुट लिन अस्पताल वा स्वास्थ्य संस्थामा उपलब्ध बुथ, कम्पनीको मोबाइल एप वा मोबाइल बैंकिङमार्फत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने कम्पनीले जनाएको छ । सम्झौता भएका स्वास्थ्य संस्थाले छुट उपलब्ध गराउने जिम्मेवारी लिएका छन् भने बीमितलाई उपचार खर्चमा प्रत्यक्ष लाभ पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।