काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले दिवंगत कम्युनिष्ट नेता तथा नेकपा (क्रान्तिकारी माओवादी)का तत्कालीन पोलिटब्यूरो सदस्य हर्कबहादुर शाहीको स्मृति ग्रन्थ विमोचन गर्नुभएको छ । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव वैद्यले हर्कबहादुर शाही जीवनको अन्तिम घडिसम्म पनि नयाँ जनवाद, जनगणतन्त्र र वैज्ञानिक समाजवाद र परिवर्तनको पक्षमा उभिएको सच्चा क्रान्तिकारी योद्धा भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँले मृत्युशैयामा हुँदा पनि आफ्ना दुःख पिडाहरू सुनाउनु भएन । उहाँ क्रान्ति, वैज्ञानिक समाजवाद, देश र जनताकै विषयमा चासो राख्नुहुन्थ्यो, चिन्ता गर्नुहन्थ्यो ।’
देशको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा महासचिव किरणले डबल नेकपाको आन्तरिक कलह र आरोप–प्रत्यारोपले कम्युनिष्ट आन्दोलनमाथि नै प्रश्न चिन्ह खडा भएको बताउनु भयो । नेपालमा संसदीय व्यवस्थाको औचित्य नभएको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले संसदीय व्यवस्थाको पनरावृत्तिका लागि जनयुद्ध गरेका थिएनौँ । यसकारण संसद विघटन हुँदा कुनै आकाश खसेको छैन । त्यहि व्यवस्थाका लागि गरिने चुनावको पनि अर्थ नहुने भएकाले अब देशमा वैकल्पिक व्यवस्थाको स्थापनाका लागि सच्चा कम्युनिष्टहरू एकढिक्का हुनु जरूरी छ ।’ परिवर्तनका विभिन्न आन्दोलनमा थुप्रै योद्धाहरूले बलिदानी दिएकाले समस्याको समाधान नभएसम्म क्रान्ति नरोकिने उहाँले बताउनुभयो ।


