आज वडादसैंको महानवमी ,शक्तिपीठमा बलि दिदै दुर्गा भवानीको पूजा

आज देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना हुन्छ । शक्तिपीठमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठसमेत हुन्छ ।
पशुबलि नदिनेहरुले कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
हानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ।
महानवमीको अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्ममा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने चलन छ ।
महानवमीका दिन हरेक वर्ष हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना त्यो नहुने भएको छ । सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण सबै औपचारिक कार्यक्रम स्थगित गरेको हो ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।
यो वर्षको दसैं टीकाको उत्तम साइत कात्तिक १० गते बिहान १०:१९ बजे रहेको छ ।

