काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड आइमार्सले नेपाली बजारमा आफ्ना डिभाइसहरु बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यहि जनवरीको अन्तिम साता नेपाली बजारमा आइमार्स ब्राण्डका सातवटा नयाँ फोनहरु लन्च गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा ५ वटा स्मार्टफोनहरु तथा २ वटा फिचर फोनहरु सार्वजनिक गर्न लागेको हो।
आइमार्स मोबाइलका कन्ट्रि हेड सुशिल न्यौपानेले नेपालमा जनवरी अन्तिम साता औपचारिकरुपमा नै घोषणा गर्ने बताए ।
‘हामी जनवरीको अन्तिम सातामा आइमार्सका फोनहरु नेपाली बजारमा सार्वजनिक गर्दैछौं, जसमा ५ वटा स्मार्टफोन हुनेछन्,’ उनले टेक्नोलोजी खबरसँग भने ।
‘अहिले आउने स्मार्टफोनहरु न्यूनतम १० हजार रुपैयाँदेखि शुरु भएर अधिकतम २५ हजार रुपैयाँसम्मका हुनेछन भने बार फोनहरु २ हजार रुपैयाँ हाराहारीका हुनेछन्,’ आइमार्स मोबाइलका कन्ट्रि हेड न्यौपानेले भने ।
यसअघि कम्पनीले भदौमा नै नेपाली बजारमा आइमार्स मोबाइल आउने औपचारिक घोषणा नै गरेको थियो भने नेपाली बजारका लागि कलाकार तथा अभिनेता अनमोल केसीलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको थियो । तर त्यसबेला कम्पनीले कस्ता फोनहरु आउँछन भनेर जानकारी दिएको थिएन् ।


