इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत पानीमुनिको जासुसी ड्रोन कब्जा गरेको दाबी गरेको छ। अमेरिकी सेनाले भने उक्त दाबीलाई तुरुन्तै अस्वीकार गर्दै आफ्ना सबै प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले इरानको यो दाबीलाई खारेज गरेका छन्। उनले अमेरिकी परिचालनमा रहेका सम्पूर्ण मानवविहीन प्रणाली आफ्नै नियन्त्रणमा रहेको पुष्टि गरे।यसअघि आईआरजीसी नौसेनाले हर्मुज जलमार्गबाट अमेरिकी ‘एमके–१८ मोड २ किङफिस’ नामक स्वायत्त निगरानी उपकरण नियन्त्रणमा लिएको बताएको थियो। जासुसीका लागि परिचालित उक्त उपकरणलाई विद्युतीय युद्ध क्षमता प्रयोग गरी जटिल अभियानमार्फत कब्जा गरिएको इरानी पक्षको दाबी छ।

इरानले नियन्त्रणमा लिइएको उपकरणबाट सूचना तथा विवरण निकाल्ने काम भइरहेको जनाएको छ। साथै, हर्मुज क्षेत्रमा अनधिकृत आवागमनविरुद्ध कडा कारबाही जारी राख्ने चेतावनीसमेत दिएको छ।

अमेरिकी सेनाले भने इरानको भनाइमा कुनै सत्यता नरहेको दोहोर्याउँदै क्षेत्रमा आफ्ना सबै प्रणाली सुरक्षित रहेको जनाएको छ।