काठमाडौंको मौसम विहानै हुस्सु अहिले सफा , कस्तो छ देशभरको मौसम ?

काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज विहानैदेखि हुस्सु लागेको छ। हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाले दिएको जानकारीअनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। यस्तै पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर आंशिक बादल लाग्ने अनुमान गरिएको छ। देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

