प्रधानमन्त्री शाहको चिन्ता : जोखिम अझै कायमै छ, उच्च सतर्कता अपनाउनू

देशभर बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम अझै कायम रहेकाले उच्च सतर्कता अपनाउन प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकलाई आग्रह गरेका छन्।

अविरल वर्षाका कारण असोज ९ गतेदेखि हालसम्म म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको छ। विपद्‌मा परी ५ जना घाइते भएका छन् भने ५ जना बेपत्ता छन्। मनाङको हिमपहिरोमा मानिस बेपत्ता भएको सूचना प्राप्त भएकाले विवरण सङ्कलन भइरहेको छ।

प्रधानमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले बताए।

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै बेपत्ताको खोजी, मानिस तथा पशुचौपायाको उद्धार र प्रभावित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था भइरहेको छ। उद्धार तथा राहतका लागि सुरक्षाकर्मीलाई पूर्ण तयारी अवस्थामा राखिएको छ।

देशभर ४ सय ३९ वटा मनसुनजन्य घटना दर्ता भएका छन्। बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न सडक प्रभावित बनेका छन्।

केही सडक तथा पुलमा क्षति पुगेको छ। क्षतिग्रस्त सडक तत्काल मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रधानमन्त्री सन्देश :

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,

केही दिनअघि असोज ९ गतेदेखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हावाहुरी आउन सक्ने पूर्वानुमान नेपाल मौसम विज्ञान विभाग लगायत निकायलेले गरेबमोजिम हामीले सबै नागरिकमा पूर्वसावधानी अपनाउन सार्वजनिक अपिल गरेका थियौँ। सरकार पनि तत्कालै गम्भीरताका साथ सम्भावित विपद् व्यवस्थापनको तयारीमा सक्रिय बनेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट कमान्ड पाेष्टको बैठकबाट निरन्तर सूचना सम्प्रेषण, रात्रीकालिन यातायात र स्कुल बन्द गराउने लगायत सावधानीका निर्णय गराइएको थियो । ७७ वटा जिल्ला कमान्ड पाेष्टलाई सक्रिय बनाइएको थियो।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो, हावाहुरी, डुबान र चट्याङका घटनाहरू भइरहेका छन्, जसबाट प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको छ।

असोज ८ गतेदेखि केहिबेर अघिसम्मको विवरणअनुसार चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायत जिल्लामा गरी २१ नागरिकले ज्यान गुमाउनुभएको छ। ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, विपद्‌मा परी घाइते हुनुभएका ५ नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिबाट नागरिकलाई माथि उठाउन हामी निरन्तर क्रियाशील छौँ। तर, यही बीचमा हामीले पुनः अर्को विपद्‌को सामना गर्नु परेको छ।

यस विषम परिस्थितिमा हालसम्म ५ जना नागरिक बेपत्ता हुनुभएको विवरण प्राप्त भएको छ। मनाङको हिमपहिरोमा परेर मानिस बेपत्ता हुनुभएको सूचना प्राप्त भएको छ। यसबारे विवरण सकंलन गर्ने काम जारी छ।

बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनका घटनाहरू भएका छन्। गाउँ मात्र नभई सहरहरू समेत डुबानमा परेका छन्। दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणाली लगायतका पूर्वाधारहरूमा क्षति पुगेको छ।

यस्तो संकटको घडीमा प्रत्येक नागरिकको जीवन रक्षा गर्दै उहाँहरूलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य हो। त्यसैले बेपत्ता नागरिकको खोजीका साथै बाढीमा फसेका मानिसहरू र पशुचौपायाको उद्धारमा हाम्रा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ।

बाढी-पहिरो प्रभावित परिवारहरूका लागि सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ। नागरिकको जीउधन बचाउन विभिन्न माध्यमबाट सूचना तथा सन्देशहरू सम्प्रेषण गर्नुका साथै सुरक्षाकर्मीहरूले स्थलगत रूपमा माइकिङ गरिरहनुभएको छ। सरकारको पूर्वसूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा गएका यात्रुहरू सुरक्षित फर्कनुभएको छ भने हाम्रा विद्यार्थीहरू जोगिनुभएको छ। कुनै पनि नागरिक संकटमा पर्नेबित्तिकै उद्धारका लागि हाम्रा सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा छन्।

बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगाएर पुलमा अड्किएका कारण सावधानीका लागि पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ। बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडकहरू प्रभावित भएका छन्। सडकहरूमा पहिरो जाने र भासिने समस्या देखिएको छ। अहोरात्र खटिएर मर्मत गरिएका भोटेकोशी – त्रिशुली नदी तटीय क्षेत्रका सडकहरूमा पुनः क्षति पुगेको छ भने कालिगण्डकीको पक्की पुल समेत बगेको छ। यद्यपि, क्षतिग्रस्त सडकहरू द्रुत गतिमा मर्मत गरी यातायात पुनः सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध भएर लागि परेको छ।

त्यसैगरी, बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती-मादी करिडोर लगायत गरी राष्ट्रिय प्रसारण लाइनबाट १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएका छन्। त्यसमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनको टावर ढलेका कारण पूर्ण रूपमा ठप्प भएका छन्। यसैगरी, बाढी-पहिरो तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपायस्वरूप ६९५.२ मेगावाट उत्पादन क्षमताका आयोजनाहरूको उत्पादन बन्द गरिएको छ।
विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिकहरूको टोली प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको छ।

देशका ठूला नदीहरूमा पानीको बहाव उच्च भएपछि केही स्थानमा आवागमन रोकिएको छ। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी भएर हुने नेपाल-भारत आवागमन प्रभावित भएको छ। नागरिकको सुरक्षालाई ध्यानमा राखी समन्वय गरेर पुलको दुवैतर्फ सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। सेती, नारायणी र कमला नदीमा पनि पानीको सतह निकै बढेकाले विशेष सजगता अपनाइएको छ भने कुलेखानी क्षेत्रमा पनि यातायात रोकिएको छ।

यसका साथै, हुरीसहितको वर्षाले किसानहरूको धानबाली तथा तरकारीलगायत अन्य बालीमा ठूलो क्षति पुर्‍याएको छ।

हाम्रो अगाडि खतरा अझै टरेको छैन, जोखिम कायमै छ। त्यसैले नदी तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा बस्नुहुने र यात्रा गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु। अत्यावश्यक कामबाहेक यात्रा नगर्नुहोला र कुनै पनि संकट पर्दा शुल्क नलाग्ने नम्बर १२३४ मा फोन गरेर हामीलाई सम्झिनुहोला।

यस्तो विपद्‌को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने वा कालोबजारीमा संलग्न हुनेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको छ। पीडितलाई थप पीडा दिने कार्य कसैबाट पनि हुनु हुँदैन। संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य छ।

हामी धैर्य, संयम र एकताका साथ यो विपद्‌को पनि सामना गर्नेछौँ।

सुरक्षित रहौँ, सतर्क रहौँ । धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *