काठमाडाैं। सरकारले पूर्वप्रधानन्यायाधीश जस्ताे सम्मानित व्यक्तिलाई यथेष्ट कारण र तयारीविना पक्राउ गरेर छाेडेकाे छ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज (आइतबार) बिहाना पक्रेर दिउँसो छाडेको हाे। उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई रिहा गरिएको जानकारी दिए।  कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले पूर्वप्रधानन्यायाधीश जबरालाई छोराको जिम्मा लगाइएको बताए।  यद्यपि अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको नभई भौतिक आक्रमण हुने सूचनापछि उनकै सुरक्षाका लागि जबरालाई प्रहरीकहाँ लगिएको दाबी गरेको थियो। प्रहरीले आइतबार बिहान ३ बजे उनलाई महाराजगञ्ज स्थित निवासबाटै नियन्त्रणमा लिएको  थियो। लगत्तै प्रहरीले उनलाई टेकु स्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याएको थियो।  प्रहरीले जबरालाई औपचारिक रूपमा पक्राउ गरिएको हो कि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने अझै स्पष्ट पारिसकेको छैन् । प्रहरीले सुरुमा उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको थियो । तर पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरक्षा चुनौतीका कारण उनलाई सुरक्षित स्थानमा लगिएको बताएको छ । प्रहरीले अहिलेसम्म त्यो सुरक्षा चुनौती के थियो, कसबाट वा केबाट खतरा थियो र जबरालाई घरबाटै लिएर जानुपर्ने अवस्था किन आयो भन्नेबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिएको छैन । त्यस्तै, जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको छ कि छैन भन्ने पनि स्पष्ट छैन ।  प्रहरीका कतिपय स्राेतहरुले उनका गतिविधि शंकास्पद देखिएकाले पक्राउ गरिएकाे बताएका थिए। पक्राउ परेपछि उनकाे माेबाइल फाेन कब्जा गरिएकाे थियाे।