नदीमा पानीको बहाव अत्यधिक बढेपछि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलका रूपमा रहेको प्रसिद्ध सेतीबेणी बजार डुबानमा परेको छ। बाढी घरभित्र पस्दा पर्वतको बिहादी गाउँपालिका–६ तर्फका ३० घर र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फका २० घर पूर्ण रूपमा डुबानमा परेका छन्।
बागलुङ र म्याग्दी लगायतका माथिल्लो क्षेत्रमा निरन्तर झाडी वर्षा भइरहेकाले नदीमा पानीको सतह अझै बढ्ने क्रममा रहेको स्थानीयले बताए। बाढीको जोखिम बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा दिन बिताउन बाध्य भएका छन्।
जलविद्युत् गृह बन्द, बाँधका सबै ढोका खोलियो
कालीगण्डकी नदीमा पानीको बहाव नियन्त्रणबाहिर गएपछि स्याङ्जाको बेल्टारीस्थित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको छ। शुक्रबार राति ८ बजेर ४५ मिनेटदेखि नै आयोजनाका सबै टर्बाइन बन्द गरेर उत्पादन रोकिएको हो।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार आयोजना सञ्चालनमा आएयता यति लामो समयसम्म उत्पादन बन्द गर्नुपरेको यो पहिलोपटक हो। पानीको सतह घटाउन र संरचना जोगाउन मिर्मीस्थित बाँधका तीनवटै ढोका पूर्ण रूपमा खोलिएको छ।
तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
मुख्य नदीका साथै जिल्लाका साना खोलानालामा समेत बाढीको रूप विकराल बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। रिडी, राम्दी, मालुङ्गा र चापाकोट क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
प्रशासनले सम्भावित जोखिम टार्न तटीय क्षेत्रहरूमा निरन्तर सूचना प्रवाह गर्नुका साथै माइकिङ गरेर नागरिकलाई सजग गराइरहेको जनाएको छ। बाढीको स्थिति अनुगमन गर्न सुरक्षा निकायलाई समेत हाइअलर्टमा राखिएको छ।


