काठमाडौंमा यसरी मनाइयो भारतको ८० औँ स्वतन्त्रता दिवस

कार्यक्रमको सुरुआत ‘वन्दे मातरम्’ गानबाट गरिएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले झण्डात्तोलन गरेपछि राष्ट्रिय गान गाइएको थियो।

झण्डात्तोलनसँगै भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिएको सन्देशको भिडियो प्रसारण गरिएको थियो। सन्देशमा भारतको विकास र समृद्धिको यात्राबारे उल्लेख गरिएको थियो।

पूर्वगोर्खा सैनिक परिवारलाई सहयोग र सम्मान

समारोहका क्रममा भारतीय सशस्त्र बलका दिवंगत ११ जना सैनिकका विधवा तथा हकदारलाई सम्मान गरिएको छ। राजदूतले उनीहरूलाई आर्मी ग्रुप इन्स्योरेन्स फण्ड (एजीआइएफ) अन्तर्गत कुल ८ करोड २० लाख नेपाली रुपैयाँको चेक हस्तान्तरण गरे।

भारतीय सेनामा सेवा गरेर दिवंगत भएका सैनिक परिवारको हितका लागि दूतावासले यस्तो सहयोग रकम वितरण गर्दै आएको छ।

शैक्षिक संस्थालाई पुस्तक अनुदान र पुरस्कार वितरण

स्वतन्त्रता दिवसकै अवसरमा दूतावासले नेपालका ७ वटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान दिने घोषणा गरेको छ। शैक्षिक सामग्रीमा सहज पहुँच पुर्‍याउने उद्देश्यले यो पहल गरिएको जनाइएको छ।

त्यस्तै दूतावासद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरूलाई पनि सोही अवसरमा पुरस्कृत गरियो। ‘विकसित भारत’ शीर्षकको चित्रकला, विकसित भारत रन, अन्तरविद्यालय हाजिरीजवाफ र भारत को जानिए क्विजका विजेताहरूले सम्मान प्राप्त गरे।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत र सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। समारोहमा भारतीय समुदायका सदस्य, नेपाल-भारत मैत्री संघका प्रतिनिधि तथा दूतावासका कर्मचारी र तिनका परिवारको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *