राेल्पा पहिराेमा १० जनाकाे शव भेटियाे, ३ जना अझै वेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारा गाउँ बुधबार दिउँसोसम्म सामान्य थियो । स्थानीय नियमित कामकाजमै थिए । साँझ ६ बजेदेखि करिब डेढ घण्टासम्म भारी वर्षा भयो । वर्षाकै बीच स्थानीयले पशुचौपाया भित्र्याउने काम गरे । बेलुका साढे ७ बजेतिर कोटलबारा गाउँको सिरानबाट एक्कासि लेदोसहितको भेल खस्यो । वर्षा कम हुनै लाग्दा एक्कासि ठूलो आवाजमा माथिबाट लेदोसहितको पहिरो खस्दा स्थानीय घरबाट निस्कनै सकेनन् । पहिरोमा परेर नयाँ र पुराना गरेर गाउँका ११ वटा घरगोठ पुरिए । ती घरभित्र रहेका १३ जना पनि पुरिए । पहिरोमा घर पुरिएपछि ज्यान जोगाउने प्रयास गरेकी स्थानीय १८ वर्षीया शान्ति पुनसहित १३ जना घरसँगै पहिरोभित्र फसे । पहिरो खस्दा भागेर जोगिएका घाइते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरले प्रहरीलाई १०० नम्बरमा घटनाबारे जानकारी गराएका थिए । लगत्तै घटनास्थल पुगे पनि रातिको समय भएकाले प्रहरी र स्थानीयले उद्धार कार्यलाई तीव्रता दिन सकेनन् । वर्षासँगै विद्युत् लाइनसमेत अवरुद्ध भएको थियो । रातभर उद्धार प्रयास भइरह्यो, प्रहरीले दुई जनाको शव फेला पार्यो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार घटनास्थलमा बिहीबार बिहानैदेखि प्रहरी परिचालित भयो । प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी गरेर ठूलो संख्यामा उद्धार टोली खटियो । बिहीबार बेलुकीसम्म पहिरोमा पुरिएकाहरूको शव निकाल्न र पहिचान गर्न प्रहरीलाई हम्मेहम्मे नै छ । घरसमेत पुरिएकाले उद्धार गर्न झनै मुस्किल भएको घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । पुरिएर बेपत्ता भएका १३ जनामध्ये ५ जनाको शव खोलाले बगाएर प्यूठानमा पुर्याएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकाहरू ५ वर्षदेखि ८५ वर्षसम्मका ८ पुरुष र ५ महिला छन् । बस्ती नै बगाएर गएको पहिरो नाङबाङ खोलामा मिसिएको छ । प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार बिहीबार साँझसम्म पहिरोमा परेर बेपत्ता भएकामध्ये १० जनाको शव भेटिएको छ । तीन जनाको यकिन हुन सकेको छैन । घटनास्थलमा ५ जना र प्यूठानमा ५ जनाको शव फेला परेको हो । तीन जना बेपत्ता छन् । घटनास्थलमा शव भेटिएका ५ जनामा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर छन् । रोल्पाको लुंग्री खोला र प्यूठानको माडी नदीको विभिन्न स्थानमा थप पाँच जनाको शव फेला परेको थियो । तीमध्ये ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय असिम पुन र ५ वर्षीय अशोक पुनको पहिचान खुलेको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारपछि थप औषधोपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको छ । पहिरोले ९ वटा घर, १ घुम्ती पसल, २ वटा गोठ र १ वटा चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए ।

