काठमाडौँ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकेको स्वीकार गरेका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले ग्यास आयातमा विगतको तुलनामा बढ्दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको स्वीकार गरे । यसअघि निगमले बजारमा ग्यास अभावका बिच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको र अभावको अफवाह पछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो । एउटा सिलिन्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिन्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उनको भनाइ थियो ।  निर्देशक बरालले निगमले भारतीय आयल कर्पोरेसनसँग दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास माग गरेको पनि जानकारी दिए । यसअघि मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात हुँदै आएको थियो । निगमको उक्त माग अनुसार थप ग्यास तत्काल उपलब्ध गराउन नसकिने जवाफ भारतीय आयल कर्पोरेसनले दिएको बरालको भनाइ छ ।  उनका अनुसार सरकारले पहल गरेर मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दसैँतिहारअघि उपभोक्ताका घरमा रहेका खाली सिलिन्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्न सक्छ । बरालले  ग्यास अभावको समस्या अबको दुई हप्ताभित्रमा समाधान भइसक्ने आश्वासन दिए ।  समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी, सचिव नारायण शर्मा दुवाडीसहित महाशाखा प्रमुख र उपभोक्ता हित संरक्षणसँग सरोकार राख्ने पदाधिकारीसँग ‘दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्धनका सम्बन्धमा छलफल गरेको हो ।  एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ ।  बुधबार पनि ग्यास डिलर र उद्योगमै पर्याप्त ग्यास नभएकाले उपभोक्ता एउटा ग्यास सिलिन्डरका लागि घन्टौँ लाइन बसेर पनि पाएनन् ।   बजारको माग आपूर्ति र मूल्यको नियमन गर्ने जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा तीन दिनदेखि घन्टौँ लाइन बस्दा पनि ग्यास नपाएका धेरै गुनासो आएको जनाइएको छ ।  आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएकोमा पछिल्लो सातादेखि भरि सिलिन्डरको ग्यास दिन थालेसँगै उपभोक्ताले आफूसँग भएका ग्यास भर्न थालेकाले पनि अभाव चर्किएको छ ।