एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार नाफा, ब्याज आम्दानी र कुल व्यवसाय विस्तारमा उत्साहजनक सुधार देखिएको छ।
समीक्षा अवधिमा बैंकले ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले ४०.६० प्रतिशतको वृद्धि हासिल गरेको हो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक वृद्धि
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँबाट १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। फि तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुग्दा सञ्चालन नाफा २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
नियामक समायोजन र सञ्चित नाफा समायोजनपछि कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ। अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश घटाएपछि साधारण शेयरधनीका लागि १ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध रहेको छ, जसअनुसार प्रतिशेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा छ।
३ खर्ब १५ अर्ब निक्षेप संकलन, निष्कृय कर्जा सामान्य वृद्धि
गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ र कुल जगेडा कोष १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुग्दा कर्जा प्रवाह २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। यद्यपि सम्भावित कर्जा नोक्सानी व्यवस्था ९२.५७ प्रतिशत कायम गरिएकाले जोखिम व्यवस्थापन बलियो बनाइएको बैंकले जनाएको छ।


