पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये चार जनाको शव फेला परेको दाबी गरिएको छ। घटनास्थलमा खटिएको उद्धार टोलीले ब्रड पिकमा चार वटा शव फेला पारेको पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै उद्धार टोलीले चार वटा शव फेला पारेको जानकारी सार्वजनिक गरेका हुन्। यद्यपि यो विवरणको स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी छ।

यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले घटनास्थलमा शव फेला परेको भन्ने विवरण आफूले सुनेको बताएकी थिइन्। तर त्यस्तो विवरणको अहिलेसम्म आधिकारिक पुष्टि भने भइनसकेको उनले स्पष्ट पारेकी छन्।

अल्पाइन क्लब र स्थानीय उद्धार टोलीहरूले बेपत्ता आरोहीहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। पहिचान र अन्य विवरणहरू आधिकारिक निकायबाट पुष्टि भएपछि सार्वजनिक गरिने जनाइएको छ।