नेपाल धितोपत्र बोर्डले पुँजीबजार विकासका लागि ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरेको छ। चालु साउन महिनाभित्रै प्राथमिक तथा दोस्रो बजारमा आइपिओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गर्ने बोर्डको तयारी छ।

सरोकारवालासँग आवश्यक परामर्श गरेपछि यी व्यवस्थालाई क्रमशः कार्यान्वयनमा ल्याइने बोर्डका अध्यक्ष डा गोपाल भट्टले जानकारी दिए। सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहितको उच्चपदस्थ टोलीले बोर्डको स्थलगत निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा अर्थमन्त्री वाग्लेले पुँजीबजारको दिगो विकासका लागि धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए। उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए।

नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको अर्थमन्त्रीको भनाइ थियो। उनले लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै बजारलाई अझ विश्वसनीय र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।

अर्थमन्त्री वाग्लेले धितोपत्र बोर्डको जिम्मेवारी नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे। कानुन निर्माण र नियमनका क्रममा सबै सरोकारवालासँग परामर्श गरी साझा बुझाइका आधारमा अघि बढ्न उनले आग्रह गरे।