नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दरलाई नीतिगत दरकै हाराहारीमा राख्ने गरी खुला बजार कारोबार सञ्चालन गर्ने घोषणा गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था मिलाइएको बताए। केन्द्रीय बैंकले मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा रहेको अन्तरबैंक दरलाई स्थिर र सन्तुलित बनाउन बजारको अवस्थाअनुसार खुला छाड्ने रणनीति लिएको हो। यस कदमले वित्तीय बजारमा पैसाको लेनदेनलाई थप व्यावहारिक र बजारमुखी बनाउने अपेक्षा गरिएको छ।बैंकिङ प्रणालीमा देखिने तरलता अर्थात् रकमको उपलब्धताको प्रकृति हेरेर राष्ट्र बैंकले विभिन्न खाले उपायहरू अपनाउने नीति अघि सारेको छ। यसका लागि संरचनागत तरलता र नियमित तथा आकस्मिक तरलता व्यवस्थापनका लागि भिन्नभिन्न अवधिका उपकरणहरू प्रयोग गरिने गभर्नर पौडेलले जानकारी दिए।
खुला बजार कारोबारमार्फत अन्तरबैंक दर नियन्त्रण गरिने


