प्रहरी भित्रै भ्रष्टाचारः इन्स्पेक्टरसहित दुईजना पक्राउ

काठमाडाैं । सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड हिनामिना गरेको आरोपमा इन्स्पेक्टरसहित दुईजना पक्राउ परेका छन् । लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीला लामालाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो । इन्स्पेक्टर गुरुङले आफ्नो साथी लामाको खातामा विद्यालयको रकम ट्रान्सफर गराएर हिनामिना गरेकी हुन् । सशस्त्र प्रहरीले यस विषयमा डिआइजीको नेतृत्वमा छानबिन गरेको थियो । छानबिन समितिको प्रतिवेदनका आधारमा सशस्त्र प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही गर्न पत्राचार गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सशस्त्र प्रहरीकै पत्रका आधारमा दुईजनालाई पक्राउ गरिएको हो । ‘सशस्त्र प्रहरीबाटै आएको पत्रका आधारमा दुईजनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौँ,’ उनले भने, ‘विद्यालयको रकम हिनामिना गरिएको भन्ने विषय छ, विस्तृत हेर्दै छौँ ।’ स्रोतका अनुसार यसमा आपराधिक लाभसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गर्न लागिएको छ । हिनामिनामा सशस्त्रका अन्य उच्च अधिकारी पनि तानिने सम्भावना छ । इन्स्पेक्टर गुरुङले ६ वर्ष लगातार सो स्कुलमा लेखापाल भएर काम गरेकी थिइन् । उनी एक्लैबाट यति ठुलो रकम हिनामिना सम्भव नभएको स्रोत बताउँछ । सशस्त्र प्रहरीले डिआइजी युवराज अर्यालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । इन्स्पेक्टर गुरुङले गैरकानुनी रूपमा संगठनको पैसा अपचलन गरेको समितिको निष्कर्ष छ । पैसा अपचलनमा सघाउने लामा इन्स्पेक्टरका निकस्टस्थ व्यक्ति हुन् । उनको लाजिम्पाटमा रेस्टुरेन्ट र ट्राभल एजेन्सी छ । इन्स्पेक्टर गुरुङलाई प्रभावमा पारी विद्यालयको पैसा उनले आफ्नो व्यवसायमा लगाएका थिए । केही समयपछि फिर्ता गर्ने आश्वासनमा पैसा निकालेको, तर डुबेपछि फिर्ता गर्न नसकेको खुलेको छ । छानबिनका क्रममा दुवैले पैसा अपचलन गरेको स्विकारेका छन् । पैसा फिर्ता गर्न समय दिइएको नसकेपछि फौजदारी मुद्दा प्रक्रिया अघि बढेको हो । लामा आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन् । उनी विगतमा डकैती र लागुऔषधजस्ता मुद्दामा पक्राउ परेका थिए । यो प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग्विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डे पनि छानबिनमा छन् । सुवेदी हाल डिआजी, केसी एसएसपी र पाण्डे एसपी छन् । यद्यपि, उनीहरूको प्रत्यक्ष संलग्नता देखिएको छैन । विद्यालयबाट कल्याण कोषमा पठाउनुपर्ने पैसा ढिलो गरी इन्स्पेक्टर गुरुङले व्यक्तिगत खातामा पटक–पटक ट्रान्सफर गराएकी थिइन् । यसमा सशस्त्र प्रहरीको कल्याण शाखाका कर्मचारीको भूमिकामाथि समेत छानबिन हुने भएको छ । वर्षौँसम्म विद्यालयको आम्दानी खोजबिन नहुनुले कल्याण शाखाको मिलेमतो आशंका गरिएको हो । कतिपय अवस्थामा कल्याण कोषको खातामा पैसा नै जम्मा नगरी जम्मा गरिएको भौचर पठाउने गरिएको थियो । वर्षौँसम्मको लेखापरीक्षणमा समेत यो विषय लुकाइएको थियो । साथै, बैंकको समेत मिलेमतोको आशंका गरिएको छ । एनआइसी एसिया बैंकको कीर्तिपुर शाखामा विद्यालयको खाता छ । लाजिम्पाटको शाखाबाट सधैँ पैसा निकालिएको छ । प्रक्रिया पूरा नगरी रकम निकालिएको समेत छानबिनबाट खुलेको छ ।

