चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झुक्किएर आफ्नो खुट्टामा बल आए पनि त्यो बल आफूले पार्टीका बरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको खुट्टामा पास गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा आजबाट सुरू भएको महाधिवेशनको उद्घाटन समारोहमा लामिछानेले सरकार सञ्चालनबारे चुनाव अघि नै सहमति भएको उल्लेख गरे। ‘सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याएको छ। अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको,’ लामिछानेले भने, ‘झुक्किएर बल आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।’ लामिछानले बल पास गर्ने बताएपछि प्रधानमन्त्री बालेन्द्र शाह खुलेर हाँसेका थिए। त्यस्तै रास्वपाका कार्यकर्ताहरुले उठेर सम्मान प्रकट गरेका थिए। लामिछानले थपे, ‘यहाँ मुख मिठ्याउने धेरै छन्। चुकुली लगाउने पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन। म त इतिहासलाई जवाफ दिन खडा भएको छु। आज जन्मेकाहरुले मात्र होइन, भोलि जन्मनेहरूले पनि मलाई र बालेनलाई प्रश्न गर्नेछन्। यो मौका किन गुमाउन दियौं। हामी त्यो प्रश्न भाँच्न चाहन्छौं। यो अवसरलाई सदुपयोग गर्न चाहन्छौं।’ राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा आजबाट सुरू भएको महाधिवेशनले नयाँ नेतृत्व र कार्यसमिति चयन गर्नेछ।