काठमाडौं । २७ जेठ बिहान १० बजे एउटा हेलिकोप्टर दार्चुला क्षेत्र हुँदै उड्यो । स्थानीय र प्रशासनका अनुसार उक्त हेलिकोप्टर भारतीय सेनाको हो । दार्चुलास्थित सुरक्षास्रोतका अनुसार उक्त हेलिकोप्टर नेपाल सरकारको पूर्वअनुमति नलिएरै नेपाली आकाशमा पसेको थियो । कालापानीसहित लिम्पियाधुरा र लिपुलेख क्षेत्र भारतीय अतिक्रमित नेपाली भूभाग हो । जहाँ भारतीय सेनाका अलवा भारतीय अर्धसैनिक दस्ता एसएसबी र आइटीबीपीको फौज तैनाथ छ । नेपालीलाई त्यस क्षेत्रमा भारतले आउजाउ निषेध गरेकाे छ । सुरक्षा स्रोतहरूका अनुसार उक्त हेलिकोप्टरमा भारतको ‘इन्डो–टिबटेन बोर्डर पुलिस’ (आइटीबीपी)का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार थिए । उक्त सैनिक हेलिकोप्टर दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरुको आकाश हुँदै कालापानी गएको पाइएको छ । नेपाली आकाश हुँदै हेलिकोप्टर उडाउन भारतीय पक्षले कुनै अनुमति नलिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिए । दार्चुलास्थित सुरक्षा स्रोतका अनुसार बुधबार भारतीय सैनिक हेलिकोप्टर दार्चुलाको छाङरू क्षेत्रको आकाशमा छिरेलगत्तै नजिकै रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छाङ्‌रुले दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्रको ४४ नम्बर गण हेडक्वार्टरलाई जानकारी गराइएको थियो । त्यसपछि जिल्ला प्रशासन र तहगत संयन्त्रमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको थियो । छाङरूको बस्तीमाथि भारतीय हेलिकोप्टर देखेपछि त्यसको विरोधमा स्थानीयले बाहिर निस्केर ‘नाराबाजी’ समेत गरे । आइटीबीपी प्रमुख कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित ब्यारेक निरीक्षण गर्न गएको बुझिएको छ तर कुन विशेष उद्देश्यका साथ गएको भन्नेमा प्रस्ट छैन । सुरक्षा स्रोतका अनुसार सोही हेलिकोप्टरबाट उनी आदी कैलाश र ओमपर्वत क्षेत्र अवलोकन गरी फर्किएका थिए । कालापानी क्षेत्र हुँदै चीनको मानसरोवर जाने बाटो पनि भारतले एकतर्फी रूपमा बनाइसकेको छ । पछिल्लो पटक भारत र चीनले देशले यो बाटोबाट व्यापार र यात्रा अघि बढाउने सहमति गरेपछि नेपालले दुवैलाई कूटनीतिक नोटमार्फत विरोध जनाइसकेको छ । गत वैशाख तेस्रो साता मात्रै परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएर आफ्नो अडान पुनः दोहोर्याएको थियो । शुक्रबार मात्रै भारतीय विदेश राज्यमन्त्री पवित्रा मार्गेरिटाले कैलाश मानसरोबर जाने तीर्थयात्रीको पहिलो टोलीलाई बिदाई गरेकी थिइन् । पहिलो टोली नाथुलाको बाटो हुँदै यात्रा गर्ने तयारीमा छ । सोमबारबाट टोलीले तीर्थ यात्रा गर्दैछ । हेलिकोप्टर दार्चुला क्षेत्रमा प्रवेशलाई लिएर जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनसँग जवाफ मागिने जनाएको छ । बिना अनुमति नेपाल छिरेको भारतको स्थानीय प्रशासनसँग यस विषयमा ध्यानाकर्षणसहित जवाफ माग्ने काम भइरहेको बताए । नेपाली सेनाका पूर्वरथी शरद गिरीले विदेशी सेनाको हेलिकोप्टरले नेपालको हवाई क्षेत्र (एयरस्पेस) पार गर्दै अर्को देशमा प्रवेश गर्नु गम्भीर विषय भएको बताएका छन्।कान्तिपुरबाट