अमेरिका–इरान आज सम्झाैता हुने ट्रम्पकाे दाबी

काठमाडाैं । अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने सम्झौता आज आइतबार हुने दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। तर इरानले हस्ताक्षरका लागि सही समय अझै तय नभएको बताएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्ने समय अझै तय नभएको बताएका हुन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘हामीले समझदारी पत्रमा हस्ताक्षर गर्ने सही समयका लागि पर्खनुपर्नेछ।’ शनिबार साँझ उनले भनेका छन्, ‘यद्यपि आगामी दिनमा हस्ताक्षर हुने सम्भावनालाई नकार्न सकिँदैन। अर्को पक्षको अडानमा असंगति रहेकाले हामीले यस विषयमा कुनै अभिव्यक्ति दिँदा सावधानी अपनाउनुपर्छ।’ सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेखेर ट्रम्पले भने, ‘सम्झौतामा भोलि हस्ताक्षर हुने तालिका छ। हस्ताक्षर हुनेबित्तिकै हर्मुज जलमार्ग सबैका लागि खुला हुनेछ ।’ उनले इरानले अब आणविक हतियार नचाहेको र कुनै पनि माध्यमबाट त्यस्तो क्षमता हासिल गर्न नपाउने दाबी गरे। उनले अमेरिका–इरान सम्बन्ध अघिल्ला प्रशासनको तुलनामा राम्रो भएको दाबी समेत गरे।

